Thursday, May 29, 2008
राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक
नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले 'गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्' भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । संविधानसभा बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको प्रस्ताव पारित गरेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सभासद केबी गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोडाउन सभाको तर्फबाट सरकारलाई आदेश दिएका छन् ।
यसैगरी, गणतन्त्र कार्यन्वयन भएको खुसियालीमा सरकारले १६ र १७ गते राष्ट्रिय पर्वका रुपमा दुई दिने राष्ट्रिय बिदा दिने घोषणा गरेको छ । संविधानसभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा मन्त्री परिषद बैठकको गणतन्त्र कार्यन्वयन तथा त्यस सम्बन्धि ५ निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकोतर्फबाट गृहमन्त्री सिटौलाले पेस गरेका थिए ।
स्रोत: हिमालखबर डट कम
Wednesday, May 28, 2008
आयरलैंडका संचार माध्यममा गणतन्त्र नेपाल
http://breakingnews.ie/world/mhgbmhqlqlmh/
http://www.rte.ie/news/2008/0528/nepal.html
Tuesday, May 27, 2008
काम खोज्न विदेश जान्न: दिलीप रायमाझी
नेपाली सिनेमा उद्योगमा कुशल अभिनय र नृत्यका लागि प्रशंसित नायक । पहिलो चलचित्र भानुभक्त र हाल एकसाथ विवश र पलपल चलचित्रको काममा व्यस्त । विशेष गरेर महिला मित्रहरूसँगको आत्मीयताका कराण विवादमा पनि पर्ने गर्छन् उनी । करिब तीन महिना लन्डन बसाइपछि उनी नेपाल फर्किएका छन्।
कहिले फर्कनुभयो?
– त्यस्तै दुई–तीन साता भयो।
तर, तपाईं त उतै बस्दै हुनुहुन्छ भन्ने हल्ला चल्यो नि यता त?
– यहाँ हल्ला चल्न कुन आइतबार कुर्नुपर्छ र! म आफ्नै श्रीमती लिएर लन्डन गएको थिएँ तर यहाँ त अर्कै केटी लिएर गयो भन्ने हल्ला चलाइएछ। यो खबर सुनेर म र मेरी श्रीमती दुवै हाँस्यौं।
श्रीमती लिएर जानुको कुनै कारण थियो कि?
– घुमाउन लैजानु भनेर निकै घुर्की देखाएर रिसाएझैं गर्न थालिन्, अनि यसो डुलाउन लगेको नि!
श्रीमतीको ठाउँमा अर्कै केटी लिएर जान पाएको भए अर्कै आनन्द आउँथ्यो होला नि होइन र? – घर भाँड्ने प्रश्न नगर्नुस् न यार !
दिलीपले लन्डनमै काम मिलाएकोले अब सपरिवार उतै बस्ने भए भन्ने चर्चा त्यसो भए निराधार नै ठहरियो होइन त?
– अवश्य ! एक त यहाँ थुपै सिनेमाको काम अड्किएको छ, निर्माताहरूलाई धोका दिनै सकिँदैन । र, अर्को कुरा काम गर्ने हो भने लन्डनभन्दा पनि राम्रो ठाउँमा गएर गर्न सकिन्छ । विदेश गएर काम गर्ने अवस्था आएको छैन ।
भनेपछि ढिलै भए पनि श्रीमतीसँग लन्डनमा हनिमुन मनाइयो?
– अब त्यै भन्नुपर्यो । घुमफिर त रमाइलैसँग गरियो तर लन्डन भन्ने सहर साह्रै महँगो रहेछ।
बैठक साढे तीन बजे
काठमांडू - सहमतिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक नसकिएपछि ११ बजे सुरु हुने भनिएको संविधानसभा बैठक साढे तीन बजे सरेको छ ।
संविधानसभाको पहिलो बैठक दिउँसो साढे तीन बजे हुने भएको छ । ११ बजे सुरु हुने बैठक साढे तीन बजे हुने भएपछि अन्तराष्ट्रिय सम्मेलन केन्द्र हलमा जम्मा भएका संविधानसभासद, कुटनीतिज्ञ र संचारकर्मी हल बाहिर निस्किएका छन् । राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक जारी रहेकाले संविधानसभा बैठक सारिएको माओवादी संविधानसभासद रामबहादुर थापा मगरले बताए ।
स्रोत: हिमालखबर डट कम
आजबाट नेपाल गणतन्त्र
काठमाडौं - आज २०६५ साल जेठ १५ गते बुधबार । यो दिन नेपालीका लागि ऐतिहासिक बन्दै छ । बुधबार सुरु हुने संविधानसभाको बैठकमार्फत् नेपाल गणतन्त्र बन्दै छ । गणतन्त्र स्थापनासँगै दुई सय ४० वर्ष पुरानो राजतन्त्र औपचारिक रूपमा विघटन हुँदै छ ।
संविधानसभामा चुनिएर आएका २५ दलले बुधबार बस्ने पहिलो बैठकबाटै देशलाई 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य' बनाउने सहमति गरेका छन् । राजा र उनको परिवार बस्दै आएको नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा पनि पहिलो बैठकबाटै हुने भएको छ । बैठकमा पेस गरिने प्रस्तावको पहिलो बुँदामा लेखिएको छ, 'सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रही नेपाल सार्वभौमसत्ता सम्पन्न धर्म-निरपेक्ष, समावेशी, संघीय गणतन्त्रमा आजैका मितिदेखि विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ ।'
२५ दलको सहमति
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्राध्यक्षमा सेरेमोनियल राष्ट्रपति राजालाई दरबार छाड्न १५ दिने म्यादनारायणहिटी अब राष्ट्रिय संग्रहालयप्रस्तावको पाँचौं बुँदामा 'नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सन्दर्भमा नारायणहिटी दरबारलाई ऐतिहासिक संग्राहलयमा परिणत गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउने' उल्लेख छ । संविधानसभा बैठकको पूर्वसन्ध्यामा मंगलबार साँझ बसेको २५ दलको भेलाले गणतन्त्र प्रस्तावलाई अन्तिम रूप दिएको हो । गणतन्त्र कार्यान्वयनका क्रममा यससित बाझिने सम्पूर्ण संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था खारेज गरिने प्रस्तावमा उल्लेख छ । नयाँ सन्दर्भमा राष्ट्रपतीय व्यवस्थाका लागि अन्तरिम संविधान- २०६३ मा संशोधन गर्ने सहमति दलहरूबीच भएको छ । कार्यसूचीअनुसार संविधानसभाका जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरी बैठक प्रारम्भ भएको घोषणा गर्नेछन् । मनोनीत हुन बाँकी २६ सभासद्मध्येबाट ज्येष्ठ सदस्य नपरेमा पहिलो बैठकको अध्यक्षता इलाम- ३ बाट चुनाव जितेका ७३ वर्षीय कुलबहादुर गुरुङले गर्नेछन् । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले २६ मनोनीतबारे निर्णय गर्दै छ ।
गणतन्त्र कार्यान्वयनका अतिरिक्त पहिलो बैठकले संविधानसभा कार्यविधि नियमावली मस्यौदा समिति गठन गर्ने, अन्तरिम कार्यविधि प्रस्तुत गर्ने र पारित गर्ने कार्यक्रम छ । दलहरूबीच राजनीतिक सहमति जुटे यही बैठकले संविधानसभा अध्यक्षको चयन पनि गर्नेछ । 'सरकार गठनसम्मका सबै कुरामा दलबीच सहमति जुटेमा पहिलो बैठकबाट अध्यक्ष चयन हुने सम्भावना छ,' दलहरूबीचको बैठकमा उपस्थित एमाले नेता भीम रावलले भने ।
