Tuesday, September 2, 2008

'छ महिनाभित्र पूर्ण शान्तिसुरक्षा कायम हुने

काठमांडू- उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले आउदो छ महिनाभित्र राष्ट्रव्यापीरूपमा पूर्ण शान्तिसुरक्षा र अमनचैन कायम गरिने ठोकुवा गर्नुभएको छ ।
उहांले आफ़्नो प्रमुख दायित्व मुलुकमा कानुनी राजको स्थापना गर्नु रहेको बताउदै उक्त कार्यमा असफल भए आफूले पद छोडिदिने घोषणा गर्नुभयो । उपप्रधानमन्त्री गौतमले आफूहरू जनतालाई परिवर्तनको अनुभूति दिलाउन सरकारमा सामेल भएको जनाउदै त्यसको थालनी हिजोबाटै सुरु भएको पनि दाबी गर्नुभयो । रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाले जनताले चाहेको र सरकारले लिएको प्रमुख तीन लक्ष्यमा विभिन्न किसिमका द्वन्द्वलाई तर्कसङ्गत निष्कर्ष निकाली मुलुकमा शान्तिसुरक्षा कायम गर्नु, नयाा नेपालको चाहनाअनुसार नयां संविधान निर्माण गर्नु र गरिबी र बेरोजगारीलाई समाप्त पार्दै समुन्नत नेपाल निर्माण गर्नु रहेको जनाउनुभयो । उपप्रधानमन्त्री गौतमले पुरानो राजतान्त्रिक सुरक्षानीतिले अब नचल्ने जनाउंदै नेपालको सुरक्षानीतिलाई पुनरावलोकन गर्नुपर्ने बेला आएको बताउनुभयो ।नेता गौतमले कानुनी शासन कायम गर्ने सर्तमा वाईसीएल, युथफोर्स वा कुनै समूहलाई नछाडिने अडान प्रकट गर्नुभयो । उहाको भनाइ थियो, "वाईसीएल, हाम्रै युथ फोर्सले कानुन हातमा लिने काम गर्‍यो भने पनि चाहे प्रचण्डकै दबाब आए पनि कुनै पनि हालतमा कारबाही हुनेछ ।" मुलुकमा विद्यमान अनियमितता, तस्करी, कालाबजारीलगायत जुनसुकै आपराधिक गतिविधिलगायत गृह प्रशासनको कांधमा आएको जिम्मेवारी सजगता र दृढतापूर्वक आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउंदै नेता गौतमले यस कार्यमा जनता, सञ्चार क्षेत्र, राज्य र अन्य पक्षको सहयोगको लागि आहृवान गर्नुभयो । उहांले गृह प्रशासनलाई नयां स्थापित लोकतान्त्रिक परिपाटीका आधारमा सञ्चालन गर्ने जनाउंदै सुरक्षा निकायमा योग्यता, इमानदारी र कामको परिणामलाई हेरेर बिनाभेदभाव उचित जिम्मेवारी दिइने व्यवस्था मिलाइने बताउनुभयो । सुरक्षा संयन्त्रलाई आन्तरिक रूपले र कानुनी रूपले बलियो बनाउन र सुरक्षाकर्मीलाई आवश्यक साधनस्रोतले सम्पन्न बनाउन आफू लागिपर्ने नेता गौतमको भनाइ थियो । उहांले तराईमा भइरहेको हिंसात्मक गतिविधिमध्ये राजनीतिक समूहलाई वार्ताको माध्यमबाट र आपराधिक समूहलाई कानुनी कारबाही गरी समाधान गरिने बताउनुभयो । "तराईका सबै समूहलाई वार्तामा आउन सरकारले चांडै नै आहृवान गर्नेछ", उपप्रधानमन्त्री गौतमले भन्नुभयो, "राजनीतिक समूह वार्तामा आउंछन्, नआएकालाई कारबाही हुनेछ ।" नेपाललाई चीन वा भारतविरुद्ध गतिविधि गर्न नदिइने जनाउंदै नेता गौतमले नेपाल विगतमा भएका सहमतिअनुसार जहिले पनि एक चीन नीतिमा अडिग रहेको स्पष्ट पार्नुभयो । अत्यन्त चुनौतीपूर्ण अवस्था र उज्ज्वल सम्भावनाका बीच आफूहरू जिम्मेवारी सम्हाल्न आएको जनाउंदै नेता गौतमले यस जिम्मेवारीलाई पूरा गर्न योजनाबद्ध ढङ्गले अगाडि बढिने बताउनुभयो । विगतको गृहमन्त्रीकालमा एयरपोर्ट काण्डलगायतका विभिन्न नाममा लगाइएका आरोप आफू सफलताको सिढी चढ्दै जांदा बदनाम बनाउन गरिएको कोसिस भएको उहांले बताउनुभयो । चुनावमा पराजित व्यक्ति किन जिम्मेवारी सम्हाल्न आइपुग्नुभयो भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री गौतमको भनाइ थियो, "मलाई जितेकाहरूले नै ल्याएका हुन्, उनीहरूले मलाई नै रोजेपछि के गर्ने ।