Monday, October 27, 2008

दीपावली ०६५ को शुभकामना

नेपालीको महान चाड बडा दशैंको अन्त्यसँगै अर्को ठूलो चाड दिपावली सबै नेपालीको घर आँगनमा आइसकेको छ । अभाव, पीडा र संकटका बीच पनि आम नेपालीले आ-आफ्नै गच्छेअनुसार बडा दशैं मनाए । पूर्वी नेपालमा कतिपय जनता घर जान पाएनन्, पश्चिम भेगमा पनि बाढी, पहिरोले हजारौं विस्थापित थिए र अझै पनि छन् । जेहोस्, अभावै-अभावका बीच पनि नेपाली जनताले बडा दशैंलाई बिदाइ गरिसकेका छन् अर्को एक बर्षको लागि । यसैबीच अर्को दोश्रो महानपर्व तिहारको रौनकताले नेपालीहरुको बस्तीहरुमा कतै उल्लास छाएको छ भने कतै अभावको सन्नाटा छाएको छ । यस पर्वको महत्वलाई आत्मसात गर्दै पशुपंक्षी र प्रकृप्रतिको सम्मान, दाजुभाई दिदीबहिनीबीचको हार्दिकता, ऐश्वर्य र धनधान्यको मनोकामना, असत्यमाथि सत्यको बिजय, अध्याँरोपछि उज्यालोको निःसन्देह आमगन जस्ता सन्देश ग्रहण गर्न सक्नुपर्दछ । पछिल्ला बर्षहरुमा यसपर्वको नाममा चरम बिकृति र बिसंगति मौलाउदैं जान थालेको पाइन्छ । यो अवश्य पनि चिन्ताको बिषय हो । तिहारपर्वको नाममा जुवा, तास खेल्ने, मादक पदार्थको अत्यधिक सेवन गर्ने, जथाभावी आताशबाज, पटका पड्काउने जस्ता उच्छृंखल क्रियाकलापमा प्रतिस्पर्धा गर्ने, देउसीभैलोको नाममा मौलिक परम्परा, कला र सँस्कृतिलाई लत्याउँदैं अस्वभाविक खालका हुलइज्जत गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्ने आजको टड्कारो आवश्यकता बन्दै गएको छ । यसदिशामा आजको पुस्ताले नयाँ पुस्तालाई सही मार्गमा डोरयाउन सकिएन भने भोली बिकराल समस्या नआउला भन्न सकिंदैन ।समयको परिबर्तनसंगै हामीले स्वीकार्नैपर्ने असहमतिभित्र सहमति, असमझदारीभित्र समझदारी, अँध्यारोभित्र उज्यालो र नरकभित्र स्वर्ग खोज्न सँधैं प्रेरित गर्ने यस पर्व दिपावलीले हामी सबै नेपालीको अन्तर्मनमा सकारात्मक सोंचको बिकास गर्दै सुख, समृद्धि, ऐश्वर्य र मानप्रतिष्ठा लाभ होस् भन्ने हार्दिक मंगलमय शुभकामना ।

No comments: