Tuesday, July 15, 2008

र्सार्क महोत्सवमा नेपालका बसाइँ र लालसलाम

श्रीलंकाको संस्कृति र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा आगामी साउन ३ देखि ८ गतेसम्म कोलम्बोमा र्सार्क चलचित्र महोत्सवको आयोजना गर्ने भएका छन्। पन्ध्रौं र्सार्क सम्मेलनअर्न्तर्गत आयोजना गरिने सो महोत्सवमा र्सार्क राष्ट्रमा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछन्। महोत्सवमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश प्रत्येक देशका दुइ-दुइवटा चलचित्र प्रदर्शन गरिनेछन्। महोत्सवमा हरेक दिन निःशुल्क चलचित्र प्रदर्शन गरिने जनाइएको छ। अफगानिस्तान, माल्दिभ्स र भुटानका चलचित्रको भने महोत्सवमा उपस्थिति छैन। चलचित्र विकास बोर्डका सदस्य शिवजी लामिछानेका अनुसार र्सार्क चलचित्र महोत्सवमा नेपालका तर्फाट लीलबहादुर छेत्रीको उपन्यासमा आधारित चलचित्र बसाइँ र माओवादी जनयुद्धमा आधारित चलचित्र लालसलाम पठाइएको छ। महोत्सवको उद्घाटन सोमरत्ने दिशानायकेद्वारा निर्देशित श्रीलंकाली चलचित्र श्रीराजाश्रीको प्रदर्शन गरी गरिने उल्लेख गरिएको छ। साउन ४ गते बंगलादेशी चलचित्र घानी र निरन्तर देखाइनेछ भने साउन ५ गते भारतीय चलचित्र मित्रः माई पाइन्ड र बारानासः अ मिस्टिक लवस्टोरीको प्रदर्शन गरिने कार्यक्रम रहेको छ। यस्तै साउन ६ गते नेपाली चलचित्र लालसलाम र बसाइँ प्रदर्शन गरिनेछ। पाकिस्तानी चलचित्र खुदा के लिए र कोई तुझसा कहाँ साउन ७ गते तथा श्रीलंकाली चलचित्र निसला गिरा साउन ८ गते प्रदर्शन गरी महोत्सवको अन्त्य गरिने जनाइएको छ।

No comments: