Monday, July 21, 2008

रामवरण पहिलो राष्ट्रपतिमा निर्वाचित

काठमांडू - धनुषा जिल्ला सपहीका ६१ वर्षीय डा. रामवरण यादव मुलुकको पहिलो राष्ट्रपति भएका छन् ।
जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यन्वयन घोषणा गरेपछि राष्ट्रपति निर्वाचनको प्रक्रिया औपचारिकरुपमा अघि बढेको हो तथा साउन ४ गतेको राष्ट्रपति र उप राष्ट्रपतिको चुनावमा राष्ट्रपतिका कुनै उमेदवारले जित्न आवश्यक २९८ मत ल्याउन नसकेपछि आज साउन ६ गते दोश्रो चरणको चुनाव भएको हो । राष्ट्रपतिमा बिजयी यादवले ३०८ मत ल्याए भने अर्का उमेदवार रामराजाप्रसाद सिंहले २८२ मत पाए । धनुषा जिल्ला सपहीका ६१ वर्षीय यादवले माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना गठवन्धनका रामराजाप्रसाद सिंहलाई पराजित गरेका हुन् । यादवलाई नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमसहित साना दलको समर्थन प्राप्त थियो । यादव अहिले पनि नेपाली कांग्रेसका महामन्त्री हुन् ।
२०१७ सालको बिद्यार्थी आन्दोलनमार्फत नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका यादवले चिकित्सा क्षेत्रमा एम डी गरेका छन् । २०४६ को जनआन्दोलनले सफलता पाउनुअघि सम्म यादव जनकपुरमै चिकित्सा पेसामा थिए । त्यसपछि पहिलो आम निर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भए तथा नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाए । मधेसी मूलको भए पनि यादवले मधेसवादी दलहरुको प्रमुख माग एक मधेस प्रदेशप्रति सार्वजनिकरुपमै असहमति प्रकट गर्दै आएका छन् । यादवलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निकट तथा बिश्वासपात्र मानिन्छ ।

No comments: