Friday, February 1, 2008

राजधानीमा अपराधीको बिगबिगी

काठमाडौँ, - प्रधानमन्त्री र गृहमन्त्रीले सुरक्षा प्रमुखलाई शान्ति सुरक्षाको स्थिति मजबुत तुल्याउन निर्देशन दिए पनि राजधानीमा हत्या, लुटपाट र चोरीका घटना बढेर गएका छन् ।
वसन्तपुरमा गएराति दुइ युवकले कुटेर एकको हत्या गरेका छन्। प्रहरीबाट प्राप्त जानकारीअनुसार भरत र रविन नाम गरेका दुइ युवकले गएराति वसन्तपुरमा राजु दर्शनधारीलाई निर्घा कुटपिट गर्दा दर्शनधारीको मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका दर्शनधारीलाई उपचार्रार्थ वीर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भयो। त्यस्तै गएराति सुकेधारा निवासी महेश खड्काको घरमा लुटेराले दुइ लाख बराबरको धनमाल डकैती गरेका छन्। मध्यराति आएको चार/पाँच जनाको समूहले खड्काको घरको ढोका फोरेर भित्र पसी धनमाल डकैती गरेको प्रहरीले जनाएको छ। त्यस्तै महाराजगन्जस्थित अमेरिकी राजदूतावासअगाडि हतियार लिएर हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। लालमट्टी गाविस-३ भालुवाङ बस्ने २२ वषीय वसन्त बस्नेतले गएराति अमेरिकन राजदूतावासमा ड्युटीमा बसेका सशस्त्र प्रहरीसँग अनावश्यक वादविवाद गरिरहेको बेला प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो। प्रहरीले बस्नेतको साथबाट पेस्तोल र दुइ राउन्ड गोली बरामद गरेको जनाएको छ।

No comments: