Thursday, May 8, 2008

संविधानसभा बैठकको तयारी तीव्र

काठमाडौं- संविधानसभा बैठकका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आवश्यक तयारी प्रारम्भ भएको छ ।

सिंहदरबारस्थित संसद् भवनमा ६ सय १ सदस्यीय संविधानसभा बैठक बस्न नसक्ने भएपछि सो केन्द्रमा बैठक बस्ने निर्णयभएअनुरूप बुधबारदेखि आवश्यक पुनः निर्माण कार्य प्रारम्भ भएको हो । संविधानसभा बैठक बस्न सक्ने गरी सुरक्षासहित सम्पूण व्यवस्था गर्न करिब ५ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । संसद् सचिवालयले सभामा जडान गर्ने माइक र त्यससम्बन्धी मेसिनरी सिंगापुरबाट ल्याउने भएको छ । सिंगापुरबाट ५० लाख रुपियाँको माइकलगायतका सामग्री आउनासाथ जोड्ने गरी नेपालकै तारलगायतका सामग्रीको व्यवस्था भइसकेको र ती सामग्रीहरू सम्मेलन केन्द्रमा राखिएको जनाइएको छ ।

त्यस्तै सभाका लागि ९० वटा कुर्सी आर्डर भइसकेको थाहा भएको छ । सम्मेलन केन्द्रमा हाल जुन अवस्थाका कुर्सी छन्, त्यही आकारकै कुर्सी राखने तयारी भएको छ । सुरक्षाको सम्पूण जिम्मा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई दिइएको र त्यसका लागि सरकारले २ करोड निकासा गरिसकेको बुझिएको छ । तर सुरक्षा निकायले त्यो रकम अपुग हुने बताएको थाहा भएको छ । संसद् सचिवालयले सवा सय मार्सल चाहिले ठानी मार्सलको पोसाक सिलाउन पनि अर्डर गरिसकेको संसद् सचिवालयका सचिव एवम् संविधानसभा बैठकस्थल तयारीका लागि गठित प्राविधिक समितिका संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी गराउनुभयो । संयोजक पाण्डेका अनुसार सम्मेलन केन्द्रमा संविधानसभाका अध्यक्ष अर्थात् सभामुखको आसन सिंहदरबारस्थित संसद् भवनमा भएको जस्तै बनाइने भएको छ ।

सम्मेलन केन्द्रमा प्रधानमन्त्री, सभामुख, संसदीय व्यवस्थामन्त्री, कार्यव्यवस्था शाखा, सूचना शाखा, पत्रकार कार्यालय, संसद्का महासचिवलगायतलाई तत्काल बैठक बस्न मिल्ने गरी करिब दुइ दर्जन कोठाको व्यवस्था गरिने भएको छ । संविधानसभाको बैठक बसेको दिन कार्यव्यवस्था मात्र नभई अन्य अत्यावश्यक बैठक बस्नुपरेमा पनि आवश्यक स्थानको व्यवस्था गर्ने गरी तयारी भइरहेको संयोजक पाण्डेले जानकारी गराउनुभयो ।

No comments: