Thursday, May 8, 2008

उडायो नेपाली दूतावासको छानो

काठमाडौं- म्यान्मारमा चक्रवात शुरू भएको चौथो दिनमा बुधबार यांगुनस्थित नेपाली दूतावासबाट परराष्ट्र मन्त्रालयमा एउटा फयाक्स आयो । जसमा भनिएको छ- आँधीले दूतावास भवन क्ष्तविक्षत बनाएको छ, छानो उडाएको छ तर कुनै मानवीय क्षति हुन पाएन।’

विनाशकारी चक्रवातले म्यान्मारलाई क्षत बिक्षत बनाएपछि नेपालको परराष्ट्र मन्त्रालयले यो पहिलो सन्देश पाएको हो । परराष्ट्र अधिकारीहरूले पटकपटक फोन गरे पनि सर्म्पर्क हुन नसकिरहेका बेलामा बुधबारदेखि नै सर्म्पर्क हुन थालेको छ । तर दूतावासको फोनमा भने अझै सर्म्पर्क हुन सकेको छैन । चक्रवातले दक्षण म्यान्मारको रंगुन र म्याउवाडी क्षेत्रलाई तहसनहस पारेर बीसौं हजार मानिसको ज्यान लिनुका साथै हजारौं बेपत्ता बनाएको छ ।

चक्रवातले नेपालीलाई पनि चिन्तित बनाएको छ । किन कि म्यान्मारमा दशकौंदेखि करिब ३ लाख नेपाली बसोबास गरिरहेका छन् । उनीहरू रंगुनमा व्यापार, सेनामा रोजगारीलगायतका कार्यमा संलग्न छन् । ३६ वर्षघि दक्षिण म्यान्मारको टाउँजी शहरको बसोबास छाडेर नेपाल फर्केका केडी पन्तले त्यहाँ सपरिवार रहेकी बहिनीसँग २५ मिनेट लगातार प्रयास गरेर कुरा गरेका थिए । टाउँजीतिर तुफान आएको रहेनछ ।

रंगुनमा ठूलो क्षति भयो भन्ने खबर सरकारी टेलिभिजनले भनेको सुनाइन्’ -उनले भने । राजधानीको शंखमूलमा रहेर व्यापार गर्ने पन्त आफन्तहरू रहेको टाउँजी र माम्ले भन्ने क्षेत्रमा चक्रवात नआएको खबर पाएर ढुक्क भएका छन् । ती क्षेत्र राजधानी यांगुनबाट १ हजार २ सय किमि दक्षिणमा पर्छन्। अहिलेसम्म चक्रवातबाट नेपाली नागरिक प्रभावित भए/नभएको कुनै जानकारी हुन सकेको छैन । यांगुनमा एभरेस्ट होटल चलाएर बसेका भैया दाइ भनिने एक नेपालीलाई सर्म्पर्कको प्रयास भए पनि कुनै सर्म्पर्क हुन सकेन । पन्तका भान्जा भरत भण्डारीचाहिँ सकुशल भएको खबर मिलेको उनले बताए ।

No comments: