Saturday, January 5, 2008

माघदेखि स्वास्थ्य सेवा निःशुल्क

भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले आगामी माघ १ गतेदेखि नेपालका सम्पूर्ण स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा स्वास्थ्य सेवा निःशुल्क हुने बताउनुभएको छ ।
भक्तपुर अस्पतालको आयोजनामा बिहीबार भएको पत्रकार निःशुल्क उपचार सेवा कार्ड वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको छ । अन्तरिम संविधानमा स्वास्थ्य उपचारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको हुनाले पहिलो चरणमा स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा उपचार निःशुल्क गर्न लागेको मन्त्री पोखरेलको भनाइ थियो ।
स्वास्थ्यचौकीमा उपचार निःशुल्क उपचारका लागि ६९ करोड रुपियाँ व्यवस्था गरिसकेको छ। मन्त्री पोखरेलले भन्नुभयो- जिल्ला अस्पतालमा पनि औषधि उपचार निःशुल्क गर्ने प्रक्रिया अगाडि बढाउने मनसाय सरकारले बनाइसकेको छ। देश सङ्घीय राज्यमा पुगिसकेपछि स्वास्थ्यको सम्पूर्ण जिम्मा सङ्घीय सरकारको बनाउने गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो । स्वास्थ्यलाई सामाजिक साझेदारी कार्यक्रमअन्तर्गत व्यवस्थित गर्नुपर्ने उहाँको धारणा थियो । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेकाले तराई आन्दोलनलगायतको औचित्य समाप्त भइसकेको छ ।

No comments: