Friday, January 4, 2008

टेलिकमले महसुल घटाउने

काठमाडौं- नेपाल टेलिकमले एउटै अञ्चलभित्र साधारण (पीएसटीएन) टेलिफोनको कललाई स्थानीयसरह बनाउने र मोबाइल टेलिफोनमा समेत रातिको समयमा लाग्दै आएको महसुललाई घटाउने भएको छ ।

संसद्को सञ्चार तथा प्रविधि समितिले दुई साताअघि दिएको निर्देशनअनुसार टेलिकमले आफ्नो जन्मोत्सवका अवसरमा आगामी माघ २२ देखि सो व्यवस्था लागू गर्न लागेको हो। अहिले एउटै जिल्लाभित्र साधारण टेलिफोनबाट कल गर्दा २ मिनेटबराबर एक कलको महसुल लाग्ने गरेकोमा अबदेखि अञ्चलभित्रसमेत यो व्यवस्था लागू गरिनेछ’ -टेलिकमस्रोतले भन्यो। अहिले एउटै जिल्लाभित्र साधारण टेलिफोनबाट साधारण टेलिफोनमै कल गर्दा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म २ मिनेटबराबर एक कल, बेलुकी ६ देखि राति १० र बिहान ६ देखि ८ बजेसम्म ४ मिनेटबराबर एक कल र राति १० बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म ८ मिनेटबराबर एक कलको महसुल लाग्दै आएको छ। तर माघ २२ देखि अञ्चलभित्रको जतिसुकै टाढाको जिल्लामा कल गर्दा पनि स्थानीय कलसरह मात्र महसुल लाग्ने बताइएको छ।
संसद्को सञ्चार तथा विकास समितिले दिएको सो निर्देशन संविधानसभाको निर्वाचन तिथि घोषणा हुनुअघि नै कार्यान्वयनको घोषणा गर्न बिहीबार सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो । सो निर्देशनअनुसार टेलिकमले बिहीबार नै अञ्चलभित्र साधारण टेलिफोनको दर एउटै बनाउने र मोबाइल टेलिफोनमा राति १० बजेपछि कल गर्दा साबिकको दरभन्दा निकै घटाउने तयारी गरेको छ ।

No comments: