Thursday, June 12, 2008

नारायणहिटीबाट पूर्व राजा ज्ञानेन्द्रको बहिर्गमन

काठमांडू- भूतपूर्व राजा ज्ञानेन्द्र शाहले आफू नेपालमैं बसी सक्रिय रहने घोषणा गर्दै बुधवार नारायणहिटी दरबार छोडेका छन् । नयाँ आवास नागार्जुन दरबारतर्फ प्रस्थान गर्नु तीन घण्टाअघि नारायणहिटी दरबारमैं सयौं पत्रकारहरुका बीच एउटा लिखित वक्तव्य पढ्दै दुई-दुई पटक राजा बनेका ज्ञानेन्द्रले दुवैपटक बाध्यतावश श्रीपेच पहिरिनु परेको बताए ।
उनले आफू र आफ्नो परिवारमाथि लगाइएका विभिन्न आरोपहरुको खण्डन गर्दै आफूले गरेका कामबाट कसैलाई मर्का परेको भए त्यसलाई भूलवश भएको ठानिदिन आग्रह गरेका पूर्व राजा दौरा सुरुवाल र ढाका टोपीमा सजिएर चश्माको सहयोगमा आफ्नो लिखित वक्तव्य पढेका ज्ञानेन्द्र शाहले भने, “मैले देश छोडेर जाने सोच बनाएको छैन। म मातृभूमिमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पु-याउन चाहन्छु। यसको लागि सबैको सहयोग हुनेनैं छ भन्ने आशा लिएको छु।”
उनले राजदरबार हत्याकाण्डमा उनी र उनको परिवारलाई मुछेर चलाइएको चर्चाको कडा प्रतिवाद गरेका थिए । उनले भने, “त्यस्तो आक्षेप मानवीय संवेदनासँग मेल खाँदैन। यो राजसंस्थाप्रति नेपाली सामू रहेको सदभावना बिगार्ने र दुर्भावना फैलाउने रणनीति हो।“
आलोचना अस्वीकार
ज्ञानेन्द्र शाहले सम्पत्तिको मोह राख्ने राजाका रुपमा गरिएको आफ्नो आलोचना अस्वीकार गरे।
उनले भने, “ मेरो संपूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चल अचल सम्पत्ति राखेको छैन। विगत सात वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन।"
ज्ञानेन्द्र शाहले आफुले विगतमा चालेका कतिपय कदमहरु असफल भएको स्वीकारोक्ति दोहो-याएका थिए।
नारायणहिटी छाड्नअघि बुधवार ज्ञानेन्द्रले आफ्नो संपूर्ण सम्पत्ति नेपालमै रहेको बताएका थिए
ती कदमहरुप्रति सोझै माफी नमागेपनि जनताहरुबाट समझदारीको अपेक्षा गर्दै उनले भने, “म र मेरो परिवारका सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको हक हनन् हुन गएको भए अनजानवश यस्तो हुन गएको बुझिदिनु हुनेछ भन्ने आशा गरेका छौं।"
दुई हप्ताअघि संविधानसभाले गणतन्त्र घोषणा गरेपछि नारायणहिटी दरबार छोड्न दिएको १५ दिने म्यादभित्रै बुधवार भूतपूर्व राजा ज्ञानेन्द्र शाह, सरकारलेनै तोकि दिएको नागार्जुन दरबार सरेका हुन्।
सरकारले भूतपूर्व राजा ज्ञानेन्द्रलाई तत्कालका लागि मात्र नागार्जुन दरबारमा बस्न दिइएको बताएको छ।
तर उनलाई त्यहाँ बस्न दिइने समयको किटान गरिएको छैन।

No comments: