Monday, June 16, 2008

नायिकाहरुको आन्दोलन ?

नेट नसा डटकमका लागि नेपाली चलचित्रका चर्चित नायिकाहरू निरुता सिंह, संचिता लुईंटेल, उषा पौडेल, अरुणिमा लम्साल, ऋचा घिमिरे र सोभिता सिंखडा आदि छ जना नायिकाहरूलाई झुक्याएर फोटो खिची फोटोग्राफर राजीव श्रेष्ठले यामाहालाई बेचर सुटुक्क लाखौं रूपैयाँ हात पारेका छन् ।
नायिकाहरूलाई बेबसाइटको उपयोगका लागि मात्र फोटो खिंचाएको भनेर फोटोग्राफर श्रेष्ठले पछि यामाहाको मोटरसाइकल बिक्री प्रवर्द्धनका लागि सो क्यालेण्डर बेचेको थाहा भएपछि नायिकाहरूले यसविरुद्ध कानुनी कारबाहीका लागि अधिवक्ता सपना प्रधान (मल्ल) को ढोका घच्घच्याएका छन्। विश्वस्त सूत्रका अनुसार नेटनशा डटकमको लागि भनेर फोटोग्राफर श्रेष्ठलाई हिरोइनहरूको जानाजानी फोटो खिच्न यामाहा नेपालका अधिकृत वितरक मोरङ अटो वकर््सका मालिक विष्णु अग्रवाल, जिएम सुरज श्रेष्ठ र यामाहाको मिडिया एजेन्सी थम्पसन नेपालका नवीन जोशीले उक्साएका थिए। आफूहरूको फोटो त्यसरी खिचेर अनधिकृत रूपमा व्यवसायिक प्रयोग कुनै पनि हालतमा मान्य नभएको सम्बद्ध नायिकाहरूको भनाइ थियो। 'राजीव श्रेष्ठले कलाकारलाई पहिलोपटक झुक्याएका होइनन्, उनले नव–नायिकाहरूको धेरै शोषण गरेका छन्।' उत्तेजित्त हुँदै नायिका ऋचा घिमिरेले भनिन्। 'लगातार यसरी शोषण सहँदै जाने हो भने नेपालका कलाकारहरूको के अस्तित्व रह्यो त, त्यसै त कम पारिश्रमिकमा हामीले काम गर्नुपरिरहेको छ।' फोटोग्राफर र नायिकाको विवादले नेपाली सिने जगतमा हलचल पैदा गरेपछि सिनेमा बनाउँदै गरेका निर्माता र नायकहरूको पनि यसतर्फ ध्यान केन्द्रित भएको छ। नायक राजेश हमालले फोटोग्राफरले कुनै पनि चलचित्र कलाकारको अनुमतिविना त्यसरी व्यवसायिक प्रयोजनका लागि फोटो प्रयोग गर्न नहुने कुरा व्यक्त गरे। उनले भने, 'राजीवजीलाई म राम्ररी चिन्दछु, खोई किन उहाँले यस्तो गर्नुभो, विश्वास लागिरहेको छैन।' व्यवसायिक प्रयोजनका लागि कुनै नायिकालाई जानकारी नै नदिई ठूलो अर्थलाभ गरेको नेपाली सिनेजगतमा यो पहिलो घटना भने नभएको कलाकारहरूले बताएका छन्। उता, विवादलाई राफसाफ पार्न मोरङ अटो वर्क्सका सञ्चालक विष्णु अग्रवालले थम्पसनका नवीन जोशीमार्फत् हिरोइनहरूलाई सानो थैलीको नजराना चढाउने कोसिस गरेको स्रोतले बताएको छ। थैलीमा दिइन लागिएको रकम अत्यन्त कम भएको र यसले हात्तीको मुखमा जीरा जस्तो काम गरेकाले हिरोइनहरूको आन्दोलनलाई झन् चर्काउने भएपछि अहिले क्यालेण्डर प्रकाशन यामाहाको लागि गलगाँड सावित भएको छ। स्रोतका अनुसार नायिकाहरूले फोटोका लागि प्रतिनायिका पाँच लाख मागेको तर अग्रवाल र जोशी यसका लागि तयार हुँदाहुँदै पनि फोटोग्राफर श्रेष्ठ नदिनका लागि जोडतोडले लागिरहेका छन्। उल्टै राजीव श्रेष्ठ नायिकाहरूलाई नौटङ्कीको संज्ञा दिन्छन्, 'हिजो मस्कीमस्की फोटो खिचाउने अहिले पैसाको ठूलो माग गर्ने?' उनी भन्छन् 'यो द्वैध चरित्र हो।'

No comments: