Friday, June 13, 2008

दार्जिलिङमा बंगाली र गोर्खालीबीच झडप

बिर्तामोड- भारतको पश्चिम बंगालको सिलगुढी, नक्सलवाडी, बागडोगरालगायतका ठाउँमा बंगाली र नेपालीभाषी भारतीय नागरिकबीच बिहीबार झडप हुँदा करिब १ सय नेपालीभाषी घाइते भएका छन् ।

यस्तै नेपालीभाषीका ३ देखि ५ वटा घर बंगालीहरूले भत्काइदिएका छन् । दार्जिलिङ जिल्ला अर्न्तर्गतका ती क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गत मंगलबारदेखि अनिश्चितकालीन बन्दको आयोजना गरेकोमा बिहीबारबाट ६० घण्टाका लागि सो संगठनले बन्द फिर्ता लिएको थियो । बन्दको समयमा स्थानीय तहमा कठिनाइ बेहोर्नुपरेको आरोप लगाउँदै मोर्चाको विरुद्धमा आमरा बंगाली र जनजागरण मञ्चले नेपालीभाषीविरूद्ध बिहीबारदेखि आक्रमण शुरू गरेका हुन् ।

उनीहरूको समूहले नेपालीभाषीलाई छानीछानी कुटपिट गरेको थियो । मोर्चा नेपालीभाषीको छुट्टै राज्यको माग गर्ने समूह हो । तर सो समूहले अनिश्चितकालीन बन्द भने छुट्टै राज्यको माग पूरा गराउन आयोजना नगरेको अरू नै आन्तरिक माग पूरा गर्न भएको जनाइएको छ । सिलगुढीका भारतीय पत्रकार प्रमोद गिरीले बिहीबार राति नेपाल समाचारपत्रलाई फोनमा जानकारी गराउनु भए अनुसार हिंसात्मक घटना नियन्त्रण गर्न भारतीय प्रहरीलाई गाह्रो परिरहेको छ । उनका अनुसार सिलगुढीछेउमा महानन्द नदीनजिक रहेको नेपालीभाषीको एउटा बस्तीमा आक्रमणकारीले आगो लगाउने प्रयास गरे पनि भारतीय प्रहरीले रोकेको थियो । सो समयमा भएको झडपमा नौ जना भारतीय प्रहरीसमेत घाइते भएका थिए ।

No comments: