Friday, June 13, 2008

८ सय शरणार्थी गइसके पुनर्वासमा

काठमाडौं- नेपालमा रहेका ८ सय भुटानी शरणार्थी तेस्रो देशमा पुनर्वासका लागि प्रस्थान गरिसकेका छन् ।
नेपालस्थित शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) को कार्यालयका अनुसार यही जेठ १८ गतेसम्ममा तेस्रो मुलुकको पुनर्वासका लागि ३६ हजार भुटानी शरणार्थीले आवेदन दिइसकेका छन् । पुनर्वासका लागि प्रस्थान गरिसकेका शरणार्थीलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे र अमेरिका गरी सातवटा देशमा लगिएको छ । दर्ता भएका लगभग १ लाख ८ हजार शरणार्थीमध्ये केहीले तेस्रो मुलुक पुनर्वासको विरोध गर्दै स्वदेश फिर्तीको माग अघि सारी पर््रदर्शन गरे पनि तेस्रो मुलुक पुनर्वासका लागि आवेदन दिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको नेपालस्थित उच्चायोगको कार्यालयकी प्रवक्ता निनी गुरुङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
शरणार्थीलाई पुनर्वासका लागि तेस्रो देश लैजाने काम निरन्तर चलिरहन्छ’, प्रवक्ता गुरुङले भन्नुभयो- ँदर्ता भएका शरणार्थी जसले तेस्रो राष्ट्रमा जाने इच्छा व्यक्त गरी आवेदन दिन्छन्, उनीहरूलाई मात्र लगिन्छ।’ तेस्रो देशमा लाने प्रक्रियामा बसाइँसराइसम्बन्धी अन्तर्राष्ट्रिय संस्था -आईओएम) ले इच्छुक शरणार्थीले यूएनएचसीआरलाई दिएको आवेदनको आधारमा अन्तर्वार्ता र मेडिकल परीक्षणको काममा सघाउँदै आएको छ।
गएको मार्च महिनासम्ममा यूएनएचसीआरले १२ हजार शरणार्थीलाई पुनर्वासका निम्ति ७ देशलाई रिफर’ गरेको थियो। जसमध्ये ११ हजार अमेरिका, ८ सय अस्ट्रेलिया, १ सय ५० न्युजिल्यान्ड र बाँकी संख्या क्यानडा, डेनमार्क, नेदरल्यान्ड र नर्वेका लागि रिफर’ गरिएको थियो । रिफर गरिएकामध्ये २ हजार ५ सयलाई अमेरिकाले, १ सयलाई न्युजिल्यान्डले, २९ जनालाई क्यानडाले, १३ जनालाई डेनमार्कले, ३२ जनालाई नेदरल्यान्डले र २४ जनालाई नर्वेले स्वीकृत गरिसकेका छन् । सन् २००८ पछि प्रत्येक महिना १ हजार ५ सय शरणार्थी पुनर्वासका लागि तेस्रो देश जाने अनुमान आईओएमको छ । आईओएमका अनुसार सन् २००८ भित्र १० हजार भुटानी शरणार्थी पुनर्वासका लागि तेस्रो देश प्रस्थान गरिसक्नेछन्, जसमध्ये ठूलो संख्या अमेरिका प्रस्थान गर्नेछ ।

No comments: