Sunday, May 11, 2008

भारतबाट भित्रिने कुखुराका कारण बर्डफ्लुको चिन्ता

बीबीसी नेपाली सेवा-
काठमांडू- भारतबाट अवैध रुपमा भित्रिने कुखराका कारण नेपालमा पंछीहरुलाई लाग्ने बर्डफ्लु रोगको महामारी फैलिनसक्ने चेतावनी अधिकारीहरुले दिएका छन् ।
नेपालसंगको सिमाना जोडिएको भारतीय राज्य पश्चिम बंगालको खरसाङ्ग महकुमाका केही स्थानहरुमा बर्ड फ्‍लुको भाइरस भेटिएको पुष्टि भएपछि नेपालमा पनि उक्त रोग आउने खतरा बढेको छ । दार्जीलिङ्ग जिल्लाका प्रशासन प्रमुख राजेश पाण्डेले सिलिगुडी भन्दा २२ किलोमिटर उत्तरका स्थानहरुमा बर्डफ्‍लु भेटिएको शुक्रबार पुष्टि गरेका थिए ।
नेपाल र भारतबीचको खुल्ला नाकाबाट दिनहुँ अवैध रुपमा भारतीय कुखुराहरु नेपाल भित्रिने गरेका कारण नेपालमा बर्ड फ्‍लुको खतरा बढेको पशु क्वारेन्टाइन कार्यालय काकडभिट्‍टाका प्रमुख डा उदयप्रताप सिंहले बताए । अधिकारीहरू निरीह अवैध भारतीय कुखुरा नियन्त्रण गर्न धेरै बाधा रहेका कारण आफु निरीह हुनु परेको उनले बताए । सिंहले तस्करहरुले धम्क्याउने गरेकाले कुखुराको अवैध पैठारी नियन्त्रणमा बाधा पुगेको गुनासो पनि पोखे।
बीबीसी नेपाली सेवाका स्थानिय सम्वाददाता भन्छन्, प्रशासनले भारतीय कुखुराको अवैध पैठारी नियन्त्रण नगर्ने र तस्करहरुका कारण पशु क्वारेन्टाइनले काम गर्न नसक्ने हो भने नेपालमा कहिले नदेखिएको बर्ड फ्‍लु अब नभेटिएला भन्न सकिन्न ।
हाँस, कुखुरा जस्ता पाल्तु पंछीहरुमा लाग्ने बर्डफ्लूको प्रकोप केहि वर्षअघि दक्षिणपूर्वी एशियामा शुरु भएको थियो । उक्त रोग मानिसमा सरेपछि केहि विरामीहरुको मृत्यु समेत भएको थियो।
गत वर्षदेखी छिमेकको भारतमा समेत देखा परेको उक्त रोगको केस नेपालमा भने अहिलेसम्म पहिचान गरिएको छैन।

No comments: