Monday, May 12, 2008

पाकिस्तानको राजनीतिका कारण एसियन स्टारको फाइनलमा ढिलाइ

काठमांडू- इमेज च्यानलबाट प्रसारण भइरहेको नयाँ सांगीतिक प्रतिभाको प्रतियोगितात्मक कार्यक्रम साउथ एसियन स्टारको फाइनल तोकिएको समयभन्दा ढिलो हुने भएको छ । दक्षिण एसियाका पाँच राष्ट्र भारत, नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट छनोट भई आएका सांगीतिक प्रतिभाहरूबीच फाइनल कार्यक्रम आगामी जुन महिनामा भारतको कोलकोतामा आयोजना हुने कार्यक्रम तय गरिएको थियो ।

राजनीतिक अस्थिरताका कारण पाकिस्तानमा सांगीतिक प्रतिभा छनोट कार्यक्रम ढिलो शुरू हुन गएकाले यो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल कार्यक्रम पनि ढिलो हुन गएको इमेज च्यानलका साउथ एसियन स्टार नेपाल कार्यक्रम निर्माता सहेन्द्र श्रेष्ठले जानकारी गराए । साथै फाइनल कार्यक्रममा पाँच राष्ट्रबाट छनोट भएका सर्वोत्कृष्ट र फस्ट रनरअप गरी दुइ प्रतिभा सहभागी गराइने भनिए तापनि हाल आएर उत्कृष्ट पाँच प्रतिभालाई सहभागी गराउने कुरा चलेको पनि उनले जानकारी गराए । त्यसैले फाइनल कार्यक्रम कहिले हुने र त्यसमा कति जना प्रतियोगी भिड्ने भन्ने अझै निश्चित हुन नसकेको पनि कार्यक्रम निर्माता श्रेष्ठले बताए ।

हाल साउथ एसियन स्टार नेपालमा उत्कृष्ट तीनको छनोट भइसकेको छ। प्रतियोगितामा आशुसेन लामा, अनमोल सापकोटा र प्रकाश तिमल्सिना छनोट भएका हुन्। उत्कृष्ट पाँचबाट बलराम राजवंशी र मणिराज तामाङ बाहिरिएका थिए। माघबाट शुरु भएको साउथ एसियन स्टार नेपालका निम्ति ७ सय ६६ निवेदन परेकामध्ये ४ सय ६९ ले अडिसन दिएका थिए । उत्कृष्ट ५० बाट छनोट भएका प्रतियोगीहरू क्रमशः उत्कृष्ट २० र १० हुँदै दर्शक भोटिङका आधारमा अगाडि बढ्दै आएका हुन् ।

शुक्रबार, शनिबार र आइतबार इमेज च्यानलबाट प्रसारण हुँदै आएको साउथ एसियन स्टार नेपालमा संगीतकारद्वय विजयसिंह मुनाल र राजु सिंहका साथ गायिका रीमा गुरुङले निर्णायकको भूमिका निभाउँदै आएका छन्।

No comments: