Tuesday, May 27, 2008

पच्चीस भाषामा शपथ

काठमांडू- संविधानसभा सदस्यहरूले दुई दर्जनभन्दा बढी भाषामा शपथ खाने भएका छन् ।
आइतबार साँझसम्म संसद् सचिवालयमा करिब ८५ सभासद्ले आ-आफ्नो मातृभाषामा सपथ खाने लिखित जानकारी गराएका छन ।
सभासद्ले नेवारी, थारू पश्चिम, बाँतर, मैथली, सप्तरिया थारू, पूर्वेली मोरंगीया थारू, खवास, थारू, किराँत श्रृजंग लिपि, राजवंशी, मारवाडी, भोजपुरी, हिन्दी, मगर, लिम्बू, रानाथारू, ठेट मधेसी, लामा, मुस्लिम भाषा, तामाङ, गुरुङ, अठार मगरा, बाह्रे मगरा, लिम्बू र नेपाली भाषामा शपथ खाने भएका छन् । आज सभासद्हरूले आफ्नो पदको सपथ लिँदैछन् । संसद् सचिवालयले १४ जेठमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएर मातृभाषामा शपथ खान चाहने सभासद्हरूले आइतबार साँझसम्म सचिवालयमा लिखित जानकारी गराउन समय दिएको थियो । सरकारले पहिलोपटक इच्छाअनसार आ-आफ्नो मातृभाषामा शपथ खान पाउने व्यवस्था गरेपछि सभासद्हरूले मातृभाषामा शपथ उल्था गरेर सचिवालयलाई बुझाएका छन् । यसअघि नेपाली भाषामा मात्रै सपथ खाने व्यवस्था थियो । यसपटक उनीहरूले देश र जनताका नाममा शपथ लिनेछन । अहिलेसम्म ईश्वर र संविधानका नाममा शपथ लिने चलन थियो । हिन्दी नेपाली मौलिक भाषा नभए पनि धेरै सभासद्हरूले हिन्दी भाषामा शपथ खाने भएका छन् ।

संसद् सचिवालयका अनुसार आइतबार साँझसम्म लिखित जानकारी गराउने सभासदहरूमध्ये दुई दर्जनबढीले शपथ खान हिन्दी भाषा रोजेका छन् । तराई-मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि हिन्दी भाषामा शपथ खाने जानकारी सचिवालयलाई गराएका छन् । शनिबार मात्रै आफ्नो दलको प्रमुख सचेतक चुनिएका तराई मूलका एमाले नेता रामचन्द्र झाले मैथली भाषामा शपथ खाने भएका छन ।सभामुख सुवास नेम्वाङलगायत लिम्बू समुदायका सभासद्हरूले लिम्बू भाषामा शपथ लिने भएका छन् । सभामुख नेम्वाङका अनुसार लिम्बू सभासद्हरूले आइतबार मातृभाषामा शपथ उल्था गरेर सामूहिक रूपमा सचिवालयलाई जानकारी गराएका छन् ।त्यस्तै, स्थानीय विकासमन्त्री देव गुरुङले गुरुङ भाषामा सपथ खाने भएका छन् । उनले आईतबार संसद् सचिवालयलाई यसको जानकारी गराइसकेका छन् ।आ-आफ्नो क्षेत्रअनुसार फरक-फरक थारू भाषामा सपथ लिने सभासद्हरू पनि छन् । जस्तो पूर्वका थारू सभासद्ले 'पूर्वेली मोरंगीया थारू' भाषा भनेका छन् भने पश्चिमका थारू सभासद्ले 'पश्चिमी थारू' भाषा रोजेका छन । त्यस्तै, मध्य तराईका थारू सभासद्ले 'सप्तरिया थारू' भाषामा शपथ खाने जानकारी सचिवालयलाई गरएका छन् भने केही थारू सभासद्ले 'रानाथारू' भाषा रोजेका छन ।आइतबार साँझसम्म समय दिइएको भए पनि पाँच सय बढी सभासद्ले कुन भाषामा शपथ लिने भन्ने जानकारी सचिवालयलाई अझै गराएका छैनन् । उनीहरूले पनि मातृभाषामा शपथ लिने जानकारी गराए भाषा संख्या अझै थपिने अनुमान गरिएको छ । सोमबार साँझसम्म बाँकी सभासद्ले पनि जानकारी गराउने विश्वास सचिवालयले लिएको छ ।

No comments: