Sunday, May 25, 2008

डिएनए परिक्षणको माग

काठमांडू- माओवादी जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको परिवारले चितवनमा जेठ १२ गते फेला परेको लास डिएनए परिक्षण नगरि बुझ्न अस्विकार गरेको छ ।

चितवनको कविलास गाविस जुगेडी पुलभन्दा ५० मिटर उत्तरमा जेठ १२ गते बिहान ५ बजे फेला परेको लास बुझ्न माओवादी जनमुक्ति सेनाबाट मारिएका रामहरि श्रेष्ठको परिवारले अस्विकार गरेको छ । मृतक श्रेष्ठकी पत्नी रमिलाले डिएनए परिक्षणबाट लास मृतक पतिकै हो भन्ने प्रमाणित भएपछि मात्र स्विकार्ने तथा बुझ्ने संचारकर्मीहरुलाई बताइन् । श्रेष्ठको हत्याको बिरोधमा आन्दोलनको नेतृत्व गरिरहेका नागरिक समाजका संयोजक ज्ञानकुमार श्रेष्ठले माओवादी सेनाको तेश्रो डिभिजन कमाण्डर बिबिधले चिहानबाट लास निकालेर त्यहाँ फालेको दावी गरे ।

यसैबीच, पतिको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै रमिला तथा परिवारजन कोटेश्वरमा जेठ १२ गते बिहानदेखि अनसन बसेका छन् । अनसन बसिरहेको बेला आज बिहान १० बजे रामेछाप १ बाट माओवादीबाट बिजयी संविधानसभासद तारानारायण श्रेष्ठसहितको टोलीले रमिला र मृतक श्रेष्ठका परिवारजनलाई अनसन नबस्न दबाब तथा धम्की दिएको ज्ञानकुमारले बताए । उनका अनुसार, स्थानीयबाशीको प्रतिकारपछि तारानारायणको टोली त्यहाँबाट हिडेको थियो ।
स्रोत: हिमालखबर डट कम

No comments: