Tuesday, May 27, 2008

आजबाट नेपाल गणतन्त्र


काठमाडौं - आज २०६५ साल जेठ १५ गते बुधबार । यो दिन नेपालीका लागि ऐतिहासिक बन्दै छ । बुधबार सुरु हुने संविधानसभाको बैठकमार्फत् नेपाल गणतन्त्र बन्दै छ । गणतन्त्र स्थापनासँगै दुई सय ४० वर्ष पुरानो राजतन्त्र औपचारिक रूपमा विघटन हुँदै छ ।

संविधानसभामा चुनिएर आएका २५ दलले बुधबार बस्ने पहिलो बैठकबाटै देशलाई 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य' बनाउने सहमति गरेका छन् । राजा र उनको परिवार बस्दै आएको नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा पनि पहिलो बैठकबाटै हुने भएको छ । बैठकमा पेस गरिने प्रस्तावको पहिलो बुँदामा लेखिएको छ, 'सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रही नेपाल सार्वभौमसत्ता सम्पन्न धर्म-निरपेक्ष, समावेशी, संघीय गणतन्त्रमा आजैका मितिदेखि विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ ।'
२५ दलको सहमति
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्राध्यक्षमा सेरेमोनियल राष्ट्रपति राजालाई दरबार छाड्न १५ दिने म्यादनारायणहिटी अब राष्ट्रिय संग्रहालयप्रस्तावको पाँचौं बुँदामा 'नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सन्दर्भमा नारायणहिटी दरबारलाई ऐतिहासिक संग्राहलयमा परिणत गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउने' उल्लेख छ । संविधानसभा बैठकको पूर्वसन्ध्यामा मंगलबार साँझ बसेको २५ दलको भेलाले गणतन्त्र प्रस्तावलाई अन्तिम रूप दिएको हो । गणतन्त्र कार्यान्वयनका क्रममा यससित बाझिने सम्पूर्ण संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था खारेज गरिने प्रस्तावमा उल्लेख छ । नयाँ सन्दर्भमा राष्ट्रपतीय व्यवस्थाका लागि अन्तरिम संविधान- २०६३ मा संशोधन गर्ने सहमति दलहरूबीच भएको छ । कार्यसूचीअनुसार संविधानसभाका जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरी बैठक प्रारम्भ भएको घोषणा गर्नेछन् । मनोनीत हुन बाँकी २६ सभासद्मध्येबाट ज्येष्ठ सदस्य नपरेमा पहिलो बैठकको अध्यक्षता इलाम- ३ बाट चुनाव जितेका ७३ वर्षीय कुलबहादुर गुरुङले गर्नेछन् । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले २६ मनोनीतबारे निर्णय गर्दै छ ।

गणतन्त्र कार्यान्वयनका अतिरिक्त पहिलो बैठकले संविधानसभा कार्यविधि नियमावली मस्यौदा समिति गठन गर्ने, अन्तरिम कार्यविधि प्रस्तुत गर्ने र पारित गर्ने कार्यक्रम छ । दलहरूबीच राजनीतिक सहमति जुटे यही बैठकले संविधानसभा अध्यक्षको चयन पनि गर्नेछ । 'सरकार गठनसम्मका सबै कुरामा दलबीच सहमति जुटेमा पहिलो बैठकबाट अध्यक्ष चयन हुने सम्भावना छ,' दलहरूबीचको बैठकमा उपस्थित एमाले नेता भीम रावलले भने ।

No comments: