Wednesday, May 14, 2008

चीनमा सबै नेपाली सकुशल

ध्रुव पौडेल / रासस
बेइजिङ- चीनको सिचुवान प्रान्तमा रहेका नेपालीहरू सकुशल रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
सोमबार दिउँसो सो प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा १२ हजारको ज्यान जानुका साथै हजारौँ घाइते भएका थिए । सबै खालका सम्पर्कसुत्रबाट त्यहाँ कुनै नेपाली हताहत नभएको जानकारी दूतावासलाई प्राप्त भएको चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो- "सम्बन्धित अधिकारी, प्रकोपबाट प्रभावित क्षेत्रमा रहेका नेपाली, नेपाली विद्यार्थीहरू अध्ययनरत विभिन्न शिक्षण संस्थालगायत सबै सम्पर्कसुत्रबाट प्राप्त जानकारीअनुसार हालसम्म कुनै नेपालीको जनधनको क्षति भएको खबर आएको छैन ।" सोमबार दिउँसो करिब साढे दर्ुइ बजे सिचुवान प्रान्तको वन छुवान काउन्टीमा केन्द्रविन्दु रहेको ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सिचुवान प्रान्तमा भएका नेपालीहरूको निश्चित सङ्ख्या अध्यावधिक गरिएको छैन । यद्यपि भूकम्प प्रभावित क्षेत्रमा करिब ४०० नेपाली रहेको अनुमान दूतावासले गरेको छ । जसमध्ये अधिकांश विद्यार्थी छन् । करिब दुइ दर्जनभन्दा बढी नेपाली कामदार तथा अन्य केही नेपाली पनि सो क्षेत्रमा व्यापार व्यवसाय गरेर बसेको बताइन्छ ।
चीन आउने केही नेपालीहरूले दूतावास वा महावाणिज्य दूतावासलाई कुनै जानकारी नदिने भएकोले यस्तो तथ्याङ्क अध्यावधिक गर्न कठिनाइ परिरहेको बताइएको छ ।
राजदूत कार्कीले चीनमा रहेका सबै नेपालीलाई नेपाली दूतावासको वेभ साइट (डब्लुडब्लुडब्लु डट नेपाल एम्बेसी डट ओआरजी डट सिएन) मा गएर आफ्ना जानकारीहरू उपलब्ध गराइदिन अनुरोध पनि गर्नुभएको छ ।

No comments: