Monday, December 31, 2007

सिंहदरबारमा सात मन्त्रीको शपथग्रहण

काठमाडौँ- प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हिजो नियुक्त गर्नुभएका माओवादीका पाँच मन्त्रीसहित सात जनालाई आज सिंहदरबारमा शपथ खुवाउँदै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री कोइरालाले नवनियुक्त सात मन्त्रीलाई शपथग्रहण गराउनुहुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रम कोइरालाले सूचना तथा सञ्चार मन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकास मन्त्रीमा देव गुरुङ, वन तथा भू-संरक्षण मन्त्रीमा मातृका यादव, भौतिक तथा निर्माण मन्त्रीमा हिसिला यमी, महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा पम्फा भुसाललाई नियुक्त गर्नुभएको छ । साथै रमेश लेखकलाई श्रम तथा यातायात व्यवस्था मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई जलस्रोत मन्त्रीमा बढुवा गरिएको छ । माओवादीले राज्यमन्त्रीका लागि थप दुइ जनाको नाम सिफारिस गरे पनि प्रम कोइरालाले उनीहरूको नियुक्ति गर्नुभएको छैन । राज्यमन्त्री नपाएपछि रुष्ट बनेका माओवादी अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री कोइरालासमक्ष त्यसबारे कुरा गर्नुहुने स्रोतले बताएको छ ।

No comments: