Saturday, December 29, 2007

बेलुकासम्ममा संविधान संशोधन

काठमाडौँ- व्यवस्थापिका संसद्को आज बस्ने बैठकले अन्तरिम संविधानको तेस्रो संशोधन गर्ने भएको छ । आज संविधान संशोधन भएपछि मुलुक अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संविधानसभा निर्वाचन भएपछि बस्ने पहिलो बैठकले त्यसलाई औपचारिक रूप दिने बताइएको छ । सरकारले प्रस्तुत गरेको अन्तरिम संविधानको तेस्रो संशोधन विधेयकमाथि विभिन्न दलले ११ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । मूल विधेयकप्रति असहमति जनाउँदै राष्ट्रिय जनशक्ति पार्टी राप्रपाले अहिले गणतन्त्र घोषणा नगर्न र संविधानको धारा १५९ लाई यथावत् राख्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । तर संसद्मा ज्यादै न्यून सदस्य रहेका ती दलका प्रस्ताव त्यत्तिकै रद्द हुने निश्चित छ ।
त्यस्तै अन्य दलले पनि संविधानसभा सदस्य निर्वाचित सङ्ख्यालाई लिएर संशोधन प्रस्ताव दर्ता गरेका छन् । तर ती प्रस्ताव पनि पारित हुने छैनन् । आज ११ बजेदेखि बस्ने संसद् बैठकमा संशोधन प्रस्तावउपर छलफल चलाइनेछ । छलफलपछि बेलुकासम्ममा संविधान संशोधनको निर्णयाहुने सचिवालय स्रोतले जनाएको छ ।

No comments: