Tuesday, April 1, 2008

दश बुँदे प्रतिवद्धता सार्वजनिक

काठमांडू - चैत २८ को संविधानसभा चुनावलाई निश्पक्ष र शान्तिपूर्ण बनाउन प्रमूख तीन दलले १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
चैत १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठकपछि जारी प्रतिबद्धतापत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षर छ । चुनावका बेला हुने असमझदारी अन्त्यका लागि तीन दलका नेता रहेको अनुगमन संयन्त्र पनि आजको बैठकले निर्माण गरेको छ । संयन्त्रमा एमालेका अमृतकुमार बोहोरा, नेपाली कांग्रेसका डा. प्रकाशशरण महत र माओवादीका मोहन बैद्य छन् ।

तीन दलले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धतापत्रमा 'चुनावी प्रचारलाई कुनै दलले अवरोध नपुर्‍याउने, एकले अर्कालाई उत्तेजित पार्ने अभिब्यक्ति नदिने, मतदातालाई नधम्क्याउने/धम्क्याउन नदिने तथा कसैले धम्क्याए कारवाही गराउने, आफ्नो प्रभावक्षेत्र भनेर कुनै दलले अर्को दललाई प्रवेशमा रोक लगाउन नपाउने' बुँदा छन् ।
'चुनावी प्रचारमा कसैले लाठी तथा हतियार प्रदर्शन नगर्ने तथा गरे प्रशासनले कारवाही गर्ने, सबै जिल्लामा सबै दलको सहभागितामा र्सवदलीय संयन्त्र बनाउने तथा त्यसमा जिल्लाका बिशिष्ठ ब्यक्तिहरुलाई पनि समावेश गर्ने, जिल्ला प्रशासनले जिल्लामा 'हटलाईन' को ब्यवस्था गर्ने तथा आचारसंहिता बिपरित कुनै घटना भए तत्काल कारवाही गर्ने, हत्या-हिंशामा संलग्नहरुलाई कारवाही गर्ने' तीन दलको प्रतिबद्धतामा उल्लेख छ । यसैगरी, प्रतिवद्धतापत्रमा 'नागरिक समाजका अगुवाहरुलाई समावेश गरेर केन्द्रमा अनुगमन समिति बनाउने तथा सरकार र माओवादीबीच भएको २३ बुँदे सहमति कार्यन्वयन गर्ने' उल्लेख छ ।
दलहरुबीच सिटको तालमेलबारे छलफल हुने भनिए पनि आजको बैठकमा त्यसबारे छलफल नभएको बैठकका सहभागी एमाले स्थायी समिति सदस्य अमृतकुमार बोहोराले संचारकर्मीहरुलाई बताए ।
स्रोत: हिमालखबर डट कम

No comments: