Monday, April 14, 2008

प्रत्यक्षतर्फ माओवादी बहुमतको नजिक

बीबीसी नेपाली सेवा-
एमालेका भूतपूर्व महासचिव दोश्रो उम्मेदवारी दिएको रौतहटबाट पनि पराजित भएका छन् । संविधानसभाको चुनावको प्रत्यक्ष तर्फको मतदानमा नेकपा माओवादी स्पष्ट बहुमततर्फ अगाडि बढिरहेको छ । कूल २४० स्थानको संविधानसभाको लागि भएको मतदानमा माओबादीले सोमबार रातीसम्म १११ सीट प्राप्त गरिसकेको छ ।
अरु झण्डै ४० स्थानको मतगणना हुन बाँकी छ । तर अहिलेको संकेत हेर्दा माओबादीको सीट अरु बढनसक्छ । मतगणनाको शुरुदेखिनै पछि परेका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले पछिको पछि नै परेका छन् । नेपाली काँग्रेसले केवल ३२ सीट हासिल गरेको छ ।
एमालेले २८ सीट जितेको छ । चुनावमा पहिलो पटक भाग लिएका माओबादीको अप्रत्याशित जीत जस्तै तराईका नयाँ दलहरुले पनि धेरैको अनुमानलाई गलत साबित गरिदिएका छन ।
गत वर्षमात्र दलको रुप लिएका मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले २४ सीट हात पारेका छन ।
ती दुई मध्ये फोरम एक्लै १९ सीट जितेर नेपाली काँग्रेस र एमालेको हाराहारीमा पुगेको छ ।

मात्र एकजना
चुनावको एउटा उल्लेखनीय नतीजा अन्तर्गत नवलपरासी जिल्लाको क्षेत्र नं १ बाट नेपाली काँग्रेसका संस्थापक नेता भूतपूर्व प्रधानमन्त्री वीपी कोइरालाका छोरा शशांक कोइराला निर्वाचित भएका छन ।
यो चुनावमा कोइराला परिवारबाट निर्वाचित हुने उनी एकमात्र उम्मेदवार हुन ।
पराजित हुनेहरुमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला र भतीजा शेखर कोइराला एवं कार्यवाहक सभापति सुशील कोइराला छन ।
काठमाण्डूबाट पराजित भएका एमालेका भूतपूर्व महासचिव माधव कमार नेपाल रौतहटबाट पनि पराजित भएका छन । प्रत्यक्ष चुनावको नतीजा पछि मानिसहरुको ध्यान समानुपातिक चुनावको नतीजामा गएको छ । समानुपातिक पध्दतिबाट ३३५ सदस्य चुनिने छन् । नयाँ बन्ने सरकारले २६ जना मनोनीत गर्नेछ। सबै नतीजा आएपछि मात्र ६०१ सदस्य रहने संविधानसभामा दलहरुको स्थिति स्पष्ट हुनेछ ।
अन्तिम नतीजा जे भएपनि नेकपा माओबादी सबभन्दा ठूलो दलका रुपमा स्थापित हुने निश्चित देखिएको छ ।

No comments: