Sunday, April 6, 2008

हवाई गस्ती तीव्र

काठमाडौं- संविधानसभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले संवेदनशील क्षेत्रहरूमा हवाई गस्ती तीव्र बनाएको छ । राजनीतिक दलबीच चुनावी विषयलाई लिएर स्थिति तनावपूर्ण भएपछि सरकारले मुलुकभरका संवेदनशील क्षेत्रहरूमा हवाई गस्ती तीव्र बनाएको गृहसचिव उमेशप्रसाद मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूवाञ्चलको ताप्लेजुङ, पाँचथर, इलामका विभिन्न स्थानमा हवाई गस्ती गर्नुका साथै सुरक्षा निकायका अधिकारीहरूले स्थानीय जनतासँग छलफल गरी निर्वाचनमा ढुक्क भएर मतदानमा जान आग्रह गरिएको छ । त्यसै गरी मध्यमाञ्चलको धादिङ, रामेछापलगायतका क्षेत्रमा हवाई गस्ती गर्नुका साथै थप सुरक्षा प्रबन्ध मिलाइएको, पश्चिमाञ्चलको बाग्लुङमा हवाई गस्ती गर्नुका साथै हुग्दीशिर गाविसमा भएको झडपमा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको, मध्यपश्चिमाञ्चलको दाङ, सल्यान, बाँकेलगायतका क्षेत्रमा पनि हवाई गस्ती गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी सुदूरपश्चिमको दार्चुला, बैतडीलगायतका जिल्लामा हवाई गस्ती गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी उहाँले दिनुभयो।सप्तरीको सिसुवास्थित एमालेको निर्वाचन कार्यालयमा ज्वालासिंहका कार्यकर्ताले आगो लगाएकोमा तत्काल प्रहरी टोली परिचालन गरी सो समूहका लक्ष्मण मण्डललाई एसएमजीसहित पक्राउ गरिएको छ । बाग्लुङ, सिन्धुली, धादिङ, सल्यान, बाँकेलगायतका क्षेत्रमा दलका बीच चुनावी अभियानको विषयलाई लिएर झडप भएको र ती क्षेत्रमा घाइते भएकाहरूलाई उद्धार गरी अस्पताल पुर्याउने काम भएको समेत उहाँले जानकारी दिनुभयो । मन्त्रालयले काठमाडौं बेस रहने गरी साना र ठूला गरी चारवटा हेलिकोटर तयारी हालतमा राखेको र थप सुरक्षाफौजलाई समेत तैनाथ गरिएको गृहसचिव मैनालीले जानकारी दिनुभयो ।

मुलुकभर झडपका घटनाहरू भएको भए पनि धादिङको क्षेत्र नं. ३ मा हिंसात्मक घटना बढी भएकाले तीनवटै सुरक्षा निकायका प्रमुखहरूले चिन्ता व्यक्त गरी त्यहाँको सुरक्षालाई विशेष ध्यान दिएको समेत उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहसचिव, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाई सुरक्षास्थितिका बारेमा जानकारी लिनुका साथै सुरक्षा अंगलाई मजबुत रूपमा परिचालन गर्न आग्रह गर्नुभएको छ ।

बैठकमा सहभागी सुरक्षा प्रमुख र गृह प्रशासनले आइतबारसम्म भए गरेका सुरक्षा योजनाका बारेमा प्रधानमन्त्री कोइरालालाई जानकारी गराएका थिए।हरेक दिन सुरक्षासमीक्षासंविधानसभा निर्वाचनमा निर्वाचन आयोग र सुरक्षा निकायको समन्वयात्मक भूमिका बनाउने विषयमा आयोग पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूबीच आइतबार पनि छलफल भएको छ । निर्वाचनका क्रममा देखिएका असुरक्षाका अवस्थामा तत्काल कारबाही गर्ने तथा आवश्यकताअनुरूप सुरक्षाकर्मीलाई परिचालन गर्ने विषयमा दैनिक कार्ययोजना आयोगमै बसेर बनाउने विषयमा समेत सहमति भएको आयोगले जनाएको छ । गृहसचिव उमेशप्रसाद मैनाली, प्रहरी महानिरीक्षक ओमविक्रम राणा, सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओली र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिं कार्की तथा आयोग अधिकारीका बीचमा निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिनको बेलुका साढे ५ बजे बैठक बस्ने सहमति भएको छ । प्रत्येक दिनको घटनाक्रम तथा सूचनाका आधारमा छलफल गरी सुरक्षा रणनीति तय गरिने बताइएको छ।आइतबारको छलफलमा मतदान केन्द्रमा मतदाताको सुरक्षा गर्ने गरी सुरक्षा व्यवस्था मिलाउने र मतपेटिकाको सुरक्षा गर्ने कार्यका लागि आयोगले विशेष सचेतना अपनाउनुपर्ने भन्दै आयोग पदाधिकारीले सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराएका थिए ।

No comments: