Friday, April 11, 2008

चुनाव उत्साहपूर्ण रुपमा सम्पन्न: आयोग

काठमांडू- प्रमुख आयुक्त पोखरेलले मतदानमा घटेका घटनाहरूलाई सामान्य भनेका छन्
नयाँ संविधान बनाउन पहिलो पटक बिहीवार भएको संविधानसभाको चुनाव कुनै ठूलो हिंसा बिना सम्पन्न भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमानमा कूल पौने दुई करोड मतदाता मध्ये करिब ६० प्रतिशतले भोट खसालेका छन् ।
दश वर्ष लामो सशस्त्र विद्रोह गरेको नेकपा माओवादीले समेत भाग लिएको चुनाव सकिए लगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल उत्साहित मुद्रामा प्रस्तुत भएका थिए । उनले भने, "शान्तिप्रकृयाको अभिन्न अंगको रुपमा रहेको यो चुनाव उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ।"
छिटपुट हिंसा
प्रहरीका अनुसार कतिपय ठाउँमा भएका चुनावी हिंसामा सर्लाहीका एकजना स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद सिंह सहित कम्तिमा चारजना मारिएका छन् । देशभरीका करिब २१,००० मतदान केन्द्र मध्ये ३३ केन्द्रमा पुन: मतदान गर्नु पर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्तका अनुसार देशका विभिन्न भागमा बुथ कब्जा भएका, उम्मेदवार समेतलाई मतदानमा सहभागी हुन नदिइएको जस्ता गुनासोहरू प्राप्त भएका छन् र त्यसमा आयोगले छानविन गरी कानून बमोजीम कार्वाही गर्नेछ । पोखरेलले ती घटनालाई सामान्य भनेका छन् ।
अब बन्ने ६०१ सदस्यीय संविधानसभामा २४० जना प्रत्यक्ष र ३३५ जना समानुपातिक चुनावबाट निर्वाचित र बांकी २६ जना मनोनित हुने छन् ।
बयोबृद्ध प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले विहान ७ बजे लगत्तै विराटनगर-९ स्थिति आदर्श माविको मतदान केन्द्रबाट मतदान गरेका थिए । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै कोइरालाले आफु अत्यन्तै खुशी भएको र निर्वाचनले लोकतन्त्रलाई बलियो र संस्थागत बनाउने आशा व्यक्त गरे ।
सरकारको प्रमुख घटक नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ३७ वर्षपछि चितवनको क्षेत्र नं तीनको लंकु मतदान केन्द्रमा भोट हालेका छन् । उनले यसअघि २०३७ सालको जनमत संग्रहमा मतदान गरेका थिए। उनको भनाई थियो, "२००७ सालदेखि थाँती रहेको संविधान सभाको चुनाव सम्पन्न हुनु हामी सबैको निम्ति हर्ष र गर्वको कुरा हो ।"

No comments: