Friday, April 4, 2008

चुनावी सुरक्षाका लागि आजदेखि हवाई गस्ती

काठमांडू - संविधानसभा निर्वाचनमा हुन सक्ने सम्भावित खतरालाई र्टार्न सरकारले शुक्रबारबाट हवाई गस्ती शुरू गर्ने भएको छ । यसका लागि सरकारले निजी क्षेत्रबाट सञ्चालित ६ वटा हेलिकोप्टर एक हप्ताका लागि भाडामा लिएको छ ।
पाँच विकासक्षेत्रका सदरमुकामलाई मुख्य कार्यालय बनाई ती क्षेत्रबाट सातै दिन लगातार हवाई गस्ती गर्ने बताइएको छ । शान्तिसुरक्षा कमजोर भएको भन्दै सत्ताधारी दलबाटै आलोचना भएपछि गृहप्रशासनले उक्त व्यवस्था गरेको गृह मन्त्रालयस्रोतले जानकारी दिएको छ । सरकारले पूवाञ्चलको विराटनगर, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको नेपालगन्ज, सुदूरपश्चिमाञ्चलको धनगढी, मध्यमाञ्चलको काठमाडौं र सिमरामा एक-एक हेलिकोप्टर तैनाथ गरिने जनाएको छ ।
हवाई गस्तीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमान्डो दस्तालाई दुरुस्त हालतमा राखिएको पनि बताइएको छ । मन्त्रालयले थप सुरक्षादस्ता परिचालन गर्नुपर्ने संवेदनशील क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा थप मद्दतटोली पठाउन शुरू गरेको छ ।
विगत केही समययता माओवादीका कार्यकर्ताले एमाले, कांग्रेस कार्यकर्तामाथि लगातार आक्रमण गरेपछि संवेदनशील क्षेत्र घोषणा गरी थप सुरक्षाकर्मी परिचालन गरिएको हो।यसैबीच गृहप्रशासनले पहाडी जिल्लाको शान्तिसुरक्षाको स्थिति आँकलन गर्न गृहसचिवको नेतृत्वमा सुरक्षा अंगका तीनै प्रमुखलाई खटाएको छ।उक्त टोलीले बिहीबार रसुवा, धादिङ, नुवाकोट, सिन्धुली, बारा, परसा भ्रमण गरी सो क्षेत्रको शान्तिसुरक्षाको स्थितिका बारेमा जानकारी लिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओली, नेपाल प्रहरीका महानिरीक्षक ओमविक्रम राणा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिंह कार्कीको टोलीले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो।जिल्लाका सुरक्षाप्रमुखहरूले ती जिल्लामा भएका घटनाका बारेमा गृहसचिवको टोलीलाई जानकारी गराएका छन्।

No comments: