Tuesday, April 29, 2008

लोडसेडिङमा आधा कटौती

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज मंगलबारदेखि लागू हुने गरी लोडसेडिङमा आधा कटौती गरी साताको २१ घण्टामा झारेको छ ।
सोमबारसम्म साताको ४० घण्टाका दरले लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि करिब आधा कटौती गरिएको छ । आज मंगलबारबाट सिरहाको लहानदेखि पश्चिम, दाङको लमहीदेखि पूव तथा हेटौंडा-वीरगन्ज क्षेत्रबाहेक अन्य भागमा सातामा दुइ दिन विद्युत् कटौती नहुने भएको छ । औद्योगिक क्षेत्र भएकाले हेटौंडा-वीरगन्जमा भने लोडसेडिङको बेग्लै तालिका बनाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
अब सातामा पाँच दिन दैनिक चार घण्टाका दरले मात्र विद्युत् आपूर्ति कटौती हुनेछ । यसअनुसार एक दिन साँझ साढे ६ देखि राति ९ बजे, एक दिन साँझ ६ देखि राति साढे ८ बजे, एक दिन साँझ ७ देखि राति साढे ९ बजेसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ । यस्तै सातामा एक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म, सोही दिन साँझ ६ देखि राति १० बजेसम्म र एक दिन बिहान ६ देखि १० बजेसम्म र दिउँसो २ देखि साँझ ५ बजेसम्म लोडसेडिङ हुने भएको छ ।
हिजो सोमबारसम्म सातामा छ दिन सात घण्टाका दरले विद्युत् कटौती हुँदै आएको थियो । एक दिन कटौती गरिएको थिएन । केही दिनदेखि प्राधिकरणले विद्युत् उत्पादनमा वृद्धि भएपछि परीक्षणका लागि भन्दै अघोषित रूपमा लोडसेडिङ कम गर्दै आएको थियो । यसै गरी लहानदेखि पूवमा भारतको कटैया प्रसारण लाइनबाट ६० देखि ७० मेगावाट विद्युत् आयात भएकाले पनि लोडसेडिङ घटाउन सकिएको बताइएको छ । लमहीदेखि पश्चिममा भने टनकपुरबाट २० देखि २२ मेगावाट विद्युत् आपूर्ति भइरहेकाले त्यस क्षेत्रमा सातामा १२ घण्टसम्म लोडसेडिङ हुने गरेको छ ।
लोडसेडिङ सबैभन्दा बढी लाहानदेखि पश्चिम तथा लमहीदेखि पूवको मध्यक्षेत्रमा हुँदै आएको छ । गर्मीका कारण हिउँ पग्लिएर नदीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादनमा पनि सुधार आएकाले लोडसेडिङ कटौती गरिएको प्राधिकरणप्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो । हाल कालीगण्डकी, मर्स्याङ्दी र चिलिमेजस्ता ठूला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेका कारण लोडसेडिङ कटौती भएको भाटले स्पष्ट पार्नुभयो ।

No comments: