Wednesday, April 23, 2008

विद्यालय व्यवस्थापन समुदायलाई हस्तान्तरण तीव्र

रासस

मध्यपुर थिमी- शिक्षा विभागले देशभरका ६२ जिल्लाका २ हजार ३ सय ४७ वटा सरकारी विद्यालय समुदायलाई हस्तान्तरण गर्ने कार्य पूरा गरेको छ ।

आर्थिक वर्ष २०५९/६० देखि सामुदायिक विद्यालयको शिक्षालाई समयसापेक्ष र गुणस्तरीय बनाउनका लागि सरकारी विद्यालयको व्यवस्थापनको जिम्मा समुदायलाई हस्तान्तरण गर्ने कार्य तीव्र रूपमा भएको शिक्षा विभाग, विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक निभराज जोशीले बताउनुभयो । हस्तान्तरित विद्यालयमध्ये १ हजार ९ सय ६० प्राथमिक, २ सय ७८ निम्नमाध्यमिक र १ सय ९ माध्यमिक विद्यालय रहेको थाहा भएको छ ।

आर्थिक वर्ष२०६४/६५ भित्र देशभरका विभिन्न जिल्लाका १ हजार ६ सय विद्यालयको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य पूरा गर्ने क्रममा विद्यालय हस्तान्तरणको कार्यलाई तीव्रता दिइएको विभागले जनाएको छ । विभागले अहिलेसम्म रसुवा, रुकुम, रोल्पा, सल्यान, जाजरकोट, भोजपुर, सिन्धुपाल्चोक, जुम्ला, हुम्ला, मुगु, कैलाली, अछामलगायतका १३ जिल्लामा एउटा पनि विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरण नभएकाले अब ती जिल्लाको विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरण गर्ने कार्य शुरू भएको बताइएको छ । समुदायले जिम्मा लिएका विद्यालयलाई सरकारले विभिन्न अनुदान दिँदै आएको छ ।

No comments: