Wednesday, April 23, 2008

ट्रलिबस बन्द

काठमाडौं - काठमाडौं महानगरपालिका, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाको संयुक्त प्रयासमा सञ्चालित ट्रलिबस सधैको लागि बन्द भएको छ । सडक विभागले तीनकुनेबाट जगातीसम्म राजमार्ग फराकिलो बनाउन तार र पोल हटाएकाले ट्रलिबस बन्द भएको हो । २०३२ सालमा चीन सरकारको सहयोगमा त्रिपुरश्वरदेखि भक्तपुरको र्सर्यविनायकसम्म १३ किलोमिटरमा ट्रलिबस सञ्चालन हुदै आएको
थियो । ३० वटा ट्रलिबसबाट सुरु भएको यो सेवा विद्युत् महसुल, कर्मचारीको तलबलगायतका आर्थिक भार ब्योहोर्न नसकेपछि २०५८ सालमा बन्द भएको थियो ।
सेवा बन्द भएपछि ट्रलिबसको नामको चार रोपनी जग्गा नागरिक लगानीकोषलाई ६ वर्षघि बीस वर्षा लागि चार करोड रुपैयामा भाडामा दिइएको महानगर कार्यकारी अधिकृत दिनेश थपलियाले बताए । उक्त जग्गामा अहिले उपत्यका तरकारी तथा फलफूल बजार सञ्चालनमा छ । लगानीकोषबाट लिएको रकम ट्रलिबस सञ्चालन बन्द भएपछि कर्मचारीलाई तलब भुक्तानी र बिजुलीको महसुलमा खर्च भएको थपलियाले बताए ।
त्यसको दुइ वर्षछि २०६० जेठ २२ मा महानगर र दुइ नगरपालिकाको संयुक्त पहलमा ट्रलिबस फेरि सञ्चालनमा आएको थियो । पछिल्लो समय त्रिपुरेश्वरबाट कोटेश्वरसम्मको ५ किलोमिटरमा सञ्चालन हुदै आएको ट्रलिबसका लागि महानगर १० लाख, भक्तपुरले ५ लाख र मध्यपुरठिमीले ५ लाख रकमको कोष खडा गरेका थिए ।
२०६० देखि ट्रली सञ्चालनमा १ करोड २० लाख घाटा भएको थपलियाले बताए । 'अहिले भएका ट्रलिबसमा आवश्यक पर्ने पार्टपुजा पुरानो भएकोले मर्मतका लागि नपाउने समस्या छ' उनले भने ।
ट्रलिबसले कमाएको पैसाले कर्मचारी तलब, विद्युत् महसुल र मर्मतको आधा खर्च पनि नपुगेको उनले बताए । ट्रलिबसमा अहिले २७ कर्मचारी कार्यरत छन् । उनीहरूलाई महानगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउदै आएको छ ।

No comments: