Sunday, March 2, 2008

अरुण तेस्रो आयोजना सतलजलाई

काठमाडौं- बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण एवम् विद्युत् उत्पादनको जिम्मा सरकारले भारतको सतलज जलविद्युत् निगमलाई दिएको छ ।

सरकारले निर्धारण गरेको मापदण्डबमोजिम निःशुल्क विद्युत् दिन तयार भएपछि अरुण-३ को निर्माण एवम् विद्युत् उत्पादनको जिम्मा सतलजले पाएको हो । सतलज भारत सरकारको स्वामित्वमा सञ्चालित निगम हो । सो आयोजना कार्यान्वयन गराउन सरकार र सतलजबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भयो । सहमतिपत्रमा सरकारी वार्ताटोलीका संयोजक तथा जलस्रोत मन्त्रालयका सहसचिव अनुपकुमार उपाध्याय तथा सतलजका तर्फबाट उपमहाप्रबन्धक सञ्जय उप्पलले हस्ताक्षर गर्नुभयो । सहमतिसँगै लामो समयदेखि चर्चामा रहेको ४ सय २ मेगावाटको अरुण-३ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

यो आयोजना विल्ट अन अपरेट टान्सफर बुट प्रणालीअनुरुप ३० वर्षअवधिका लागि सरकारले सतलजलाई प्रदान गरेको छ । सहमतिअनुसार सतलजले आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको मितिदेखि २१ दशमलव ९ प्रतिशत अर्थात् ८८ मेगावाट बिजुली सरकारलाई निःशुल्क उपलब्ध गराउने भएको छ । यसै गरी निःशुल्क उपलब्ध गराइने विद्युत् प्रचलित नीति तथा कानुनअनुसार सरकारलाई बिजुली बिक्रीबाट प्राप्त हुने रोयल्टी र निर्यात करको अतिरिक्त हुने भएको छ । यसै गरी अरुणको विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार गर्न लागेको ४५ करोड १४ लाख रुपियाँ सतलजले सरकारलाई तिर्नुपर्ने, आयोजना विकास गर्दा प्रसारण लाइन तथा प्रवेशमार्ग सतलज स्वयम्ले निर्माण गर्ने सहमति भएको मन्त्रालयका सहसचिव उपाध्यायले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।प्रस्तावित आयोजना सम्पन्न गर्न वित्तीयस्रोतको व्यवस्था गरेको ५ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सहमति भएको उहाँले बताउनुभयो। उपाध्यायका अनुसार सतलजले अब अध्ययनका लागि विद्युत् विकास विभागमा आवेदन दिनुपर्नेछ।सतलजले नेपाललाई आवश्यक बिजुली प्रसारण लाइनको उपयुक्त स्थानबाट उपलब्ध गराउनुपर्ने, प्रचलित कानुनबमोजिम आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ।

No comments: