Sunday, March 9, 2008

छोटे उस्तादमा प्रकृतिको लडाइँ


भारतमा नेपाली एकताको बलियो उदाहरण बन्न पुगेका इन्डियन आइडल प्रशान्त तामाङको पथलाई पछ्याउँदै छिन् दार्जिलिङकै नेपाली मूलकी बालप्रतिभा प्रकृति गिरी ।

टेलिभिजन कार्यक्रम भ्वाइस अफ इन्डियाको छोटे उस्तादमा प्रकृति विभिन्न आरोहअवरोह पार गर्दै उत्कृष्ट चारमा पुगेकी छन् । प्रकृतिको गायनप्रतिभालाई कार्यक्रममा जुरीले कम अंक दिए पनि भोटिङको बलमै उनी टप फोरमा पुग्न सफल भएकी हुन् । एक पटक प्रतियोगिताबाट बाहिरिइसकेको अवस्थामा प्रकृतिले वाइल्ड कार्डमार्फत पुनः प्रवेश पाएकी थिइन् ।

प्रशान्तलाई इन्डियन आइडल बनाउन उनको पक्षमा विभिन्न ठाउँका क्याम्पेनिङमा गीत गाउँदै हिँडेर लोकप्रियता कमाइसकेकी प्रकृतिले छोटे उस्तादमा आफ्ना लागि हरेक पटक नेपाली भाषामै भोट माग्दै आएकी छन् । पहाडी ड्रयागन उपनाम पाएकी प्रकृतिको स्वरले छोटे उस्तादमार्फत हरेक हप्ता विश्वलाई मोहित बनाइरहेको छ । सुरिलो स्वरकी धनी प्रकृति सरल र मिजासिलो स्वभावकी छन् ।

दार्जिलिङलगायत भारतकै नेपालीबासीको बाहुल्य भएका अन्य ठाउँ तथा नेपाल र विश्वका कुना-कुनाबाट फ्यान क्लब गठन गरी उनलाई दर्शकमत हाल्ने लहर चलेको छ । दार्जिलिङ हरिदास अड्डानिवासी १२ वर्षीया प्रकृति लोरेटो कन्भेन्सन स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन् । नरेश र मञ्जु गिरीकी तेस्रो सन्तान प्रकृतिले तीन वर्षको उमेरदेखि नै स्थानीय सुरसरगम स्कुलबाट धिरेन लामा र रोशन शाहमार्फत संगीत सिक्दै आएकी थिइन् । हाल प्रदीप क्षत्रीबाट प्रशिक्षित उनी संगीतको चौथो वर्षा अध्ययनरत छिन् । प्रकृति कलकत्ताको अडिसनबाट ३ सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट पाँचको छनोटमा परी मुम्बई पुगेकी हुन् । भविष्यमा पार्श्वगायिक बन्ने सपना साँचेकी प्रकृतिको नृत्य र अभिनयमा विशेष रुचि छ । छोटे उस्ताद कार्यक्रमका निर्णायक तथा बलिउडका चर्चित गायक, गायिका र संगीतकार प्रीतम चक्रवर्ती, श्रेया घोषाल र कुनाल गन्जवालाले उत्कृष्ट १२ प्रतियोगी छनोट गरेका थिए । त्यसपछि जुरीको ५० र दर्शकमत ५० का आधारमा प्रतियोगीको छनोट गरिँदै आएको छ ।

No comments: