Friday, March 28, 2008

मतदातालाई निशुल्क यातायात

सन्तोष बराइली
राजनीतिक दलहरुले राजधानीमा रहेका जिल्ला जान चाहने मतदाताका लागि निशुल्क यातायातको ब्यवस्था गरेका छन् ।

चुनावको गर्मी बढ्नुसँगै राजनीतिक दलहरुले राजधानीबाट जिल्लामा मतदाता लान थालेका छन् । दलहरुको आग्रहमा जिल्ला जाने मतदाताले यातायात शुल्कसमेत तिर्नु नपर्ने ब्यवस्था गरिएका दलका कार्यकर्ता बताउछन् । राजधानीमा अध्ययन तथा काम गरेर बसेका मतदाताहरुले मतदान अधिकार पाउन् भनेर यस्तो ब्यवस्था गरिएको उनीहरु बताउछन् ।
एमाले केन्द्रीय कार्यलय सचिव युवराज कार्कीले आफ्नो पार्टीले राजधानीमा बसोबास गरिरहेका जिल्लाका मतदातालाई निशुल्क लैजाने ब्यवस्था चैत १५, १८, २१ र २४ गते गरेको बताए । न्यून आय भएकाहरुलाई यस्तो ब्यवस्थामा समेटिएको उनको भनाइ छ । पार्टीका भात्रृ संगठनहरु अनेरास्ववियू, किसान संघ, प्ररायुसंघ र जिल्ला जिल्लाका सम्पर्क मञ्चहरुले बिभिन्न तरिकाले उठाएको चन्दा यसमा खर्च गरिएको उनी जानकारी दिन्छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यलय सचिव शोभाकर पराजुलीले चैत २६ गतेसम्म जिल्ला जान चाहने मतदाताहरुलाई निशुल्क यातायात ब्यवस्था गरिएको जानकारी दिए । ज्याला/मजदुरी गरेर राजधानीमा बसिरहेका जिल्लाका मतदातालाई यसरी लैजान लागिएको उनले बताए । पार्टीका शुभचिन्तकहरुको चन्दालाई यातायात खर्चमा प्रयोग गरिएको उनको भनाइ छ ।
माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासँघले पनि राजधानीमा रहेका दिनहुँ २ देखि ४ गाडी मतदाताहरुलाई जिल्लाहरुमा पठाइरहेको छ । महासंघका उपाध्यक्ष आकाशले चन्दाबाट उठाएको रकम निशुल्क यातायातका लागि ब्यवस्था गरिएको बताए । काठमाडौंमा रहेका जिल्लाका मतदाताहरुलाई चैत २५ गतेसम्म पठाइने पनि उनले जानकारी दिए ।

स्रोत : हिमालखबर डट कम

No comments: