Monday, March 3, 2008

सात सांसद फोरममा

काठमाडौं - नेपाली कांग्रेसका छ र राप्रपाका एक गरी सात सांसद पार्टी परित्याग गरी सोमबार मधेसी जनअधिकार फोरम प्रवेश गरेका छन् । तिनमा विजयकुमार गच्छेदार, शरदसिंह भण्डारीसहित लक्ष्मण मेहता, रामजनम चौधरी, मंगलप्रसाद थारू र हरिनारायण चौधरी छन् ।
कांग्रेसका शुक्रराज संयोक र महासमिति सदस्य अर्जुन थापा पनि फोरम प्रवेश गरेका छन् । राप्रपाका अभिषेकप्रताप साह पनि फोरम प्रवेश गरेका छन् । यसअघि गच्छेदार र भण्डारीले मधेसको समस्या समाधान नगरी संविधानसभा निर्वाचनको औचित्य नहुने भन्दै कांग्रेसले दिएको प्रत्यक्ष निर्वाचनको उम्मेदवारी बहिष्कार गरेका थिए । 'कांग्रेसको छत्रछायामा आदिवासी, मधेसी, जनजाति तथा दलितको आवाज कुल्चिने प्रयास भयो,' सोमबार पत्रकार सम्मेलन गरी गच्छेदारले भने- 'कांग्रेसले अझै पनि संघीयता र समावेशीयुक्त राज्यको रूपान्तरण प्रक्रिया आत्मसात् गर्न सकेको छैन ।'
गच्छेदारले सात दल यथास्थितिवादी रहेको आरोपसमेत लगाए । फोरम तर्राईवासी र आदिवासी जनजातिको पार्टी भएको उल्लेख गर्दै फोरमका संयोजक उपेन्द्र यादवले मधेसमा बस्ने पहाडे मूलका व्यक्ति पनि मधेसी भएको बताए ।
भण्डारीले भने मधेस आन्दोलन भूगोलको लडाइ भएको विचार व्यक्त गर्दै मधेसमा बसोबास गर्ने सबै जनताको पार्टी भएकाले आफू फोरम प्रवेश गरेको बताए ।
कांग्रेस स्रोतअनुसार गच्छेदारले प्रधानमन्त्रीसग कांग्रेसबाट प्रत्यक्षमा १२ र समानुपातिकमा १३ स्थानको माग गरेका थिए । त्यसपछि उनी तर्राई मधेस लोकतान्त्रिक पार्टी संग पनि छलफलमा थिए ।

No comments: