Sunday, March 9, 2008

नर्वेली राजदूतको निवासमा लुटपाट

काठमाडौं- नेपालका लागि नर्वेका राजदूत टोरे टोरेङको ललितपुरस्थित निवासबाट सशस्त्र लुटेरा समूहले लाखौंको लुटपाट गरेको छ ।

भैंसेपाटीस्थित राजदूत टोरेङको निवासमा नकाब लगाएका २० भन्दा बढीको संख्यामा रहेका लुटेराहरूले राजदूतका आधा दर्जन सुरक्षागार्डलाई नियन्त्रणमा लिई शुक्रबार मध्यरातमा लुटपाट मच्चाएका थिए । लुटेराहरूले नेपाली रुपियाँ, अमेरिकी डलर र युरोलगायतको रकम तथा ल्यापटप कम्प्युटर, भिडियो क्यामरा, स्काई तथा स्याटलाइट फोनसमेत लुटेर लगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख पशुपति उपाध्यायले जानकारी दिनुभयो ।

सो समूहले राजदूत टोरेङका एक सहयोगीलाई समेत हतियार देखाई राजदूत बसेको कोठा देखाउन चेतावनी दिएको थियो । डाँकाहरूको समूहले राजदूत टोरेङलाई समेत नियन्त्रणमा लिएर १० मिनेटभित्र त्यहाँ रहेको धनमाल लुटेको बताइएको छ । प्रहरी परिसर ललितपुरले उक्त घटनाको छानबिन र अपराधी पत्ता लगाउन सोही परिसरका प्रहरी नायब उपरीक्षक शरद्कुमार खत्रीको संयोजकत्वमा टोली गठन गरेको छ।

No comments: