Tuesday, March 25, 2008

हाँस्दै बिदा भइन् प्रकृति

भारतीय च्यानलबाट प्रसारण भइरहेको बालसांगीतिक प्रतिभा छनोट गरिने चर्चित कार्यक्रम छोटे उस्तादको उत्कृष्ट तीनसम्म पुग्न सफल नेपाली मूलकी प्रतिभा प्रकृति गिरीको यात्रा टुंगिएको छ ।
उनी क्विन अफ जयपुरको ताज पहिरिँदै छोटे उस्तादको दौडबाट बाहिरिएकी छन् ।
हारी मै दिल हारी, तुने क्या कर डाला गाउँदै बिदा भएकी प्रकृतिले आफू बाहिरिए तापनि नरुने वाचा पूरा गर्दै हाँस्दै बिदा लिएकी थिइन् ।
दार्जिलिङकी १२ वर्षीया बालप्रतिभा प्रकृतिले जयपुरमा आयोजना गरिएको अन्तिम कार्यक्रममा दमदार आवाजमा स्टेज प्रस्तुति दिएर दर्शकको मन जित्न सफल भएकी थिइन् । अघिल्लो कार्यक्रममा निर्णायक कुनाल गन्जवालाले दिएको प्रकृति छोटे उस्ताद बन्न नसक्ने प्रतिक्रियाप्रति उनकी आमा रीताले कार्यक्रममै गुनासो पोखेकी थिइन्। सोही प्रतिक्रियाका कारण आफूलाई धेरैले प्रतियोगिता छाड्न भने तापनि आफू गोर्खाकी छोरी भएकाले अझ राम्रो गरेर देखाउने साहस लिएर कार्यक्रममा आएको बताउँदै प्रकृतिले बालमनोभावनालाई मनन गरेर मात्र बोलिदिन निर्णायकलाई अनुरोध गरिन्। पहाडी ड्रागनको उपनाम पाएकी प्रकृति कलकत्ताको अडिसनबाट ३ सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिनेर उत्कृष्ट पाँचको छनोटमा परी मुम्बई पुगेकी हुन्। भविष्यमा पार्श्वगायिका बन्ने सपना साँचेकी प्रकृतिको नृत्य र अभिनय रुचिमा पर्छ।

No comments: