Tuesday, March 11, 2008

२० शरणार्थी अमेरिका लगियो

काठमाडौं - भुटानी शरणार्थीलाई अमेरिका लैजाने क्रममा शनिश्चरे शिविरका चार परिवारका २० जनाको पहिलो टोली सोमबार अमेरिका प्रस्थान गरेको छ । सो टोलीमा केटाकेटीदेखि युवायुवतीसम्म रहेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म कडा सुरक्षाका साथ लगिएको थियो भने सञ्चारकर्मीलाई सम्पर्कमा जान बन्देज लगाइएको थियो । तथापि अमेरिका जान लागेकी किशोरी अम्बिका तिमल्सिनाले अमेरिका जान पाएकोमा सञ्चारकर्मीसँग खुसी व्यक्त गरेकी थिइन् ।

सोमबार अमेरिका प्रस्थान गर्नेहरूमा युवराज कोइराला, मनोरथ कोइराला, वेदिनी तिमल्सिना, डिल्लीराम रिजाललगायतका रहेका छन् । अमेरिकाले ६० हजार भुटानी शरणार्थीलाई अमेरिका लग्ने घोषित नीतिअनुरूप सोमबार पहिलो पटक २० शरणार्थी लगिएका हुन् । अन्य शरणार्थीलाई क्रमशः अमेरिका लगिने जनाइएको छ । अमेरिका सरकारको शरणार्थी हेर्ने निकायले अहिले शिविरमा शरणार्थी छनोट कार्य गरिरहेको छ । भुटानी शरणार्थीलाई विभिन्न सात राष्ट्रले लग्ने गरी कोर ग्रुप’ खडा गरिएको छ भने उक्त समूहको नेपालस्थित अमेरिकी दूतावासले संयोजन गर्दै आएको छ ।

भुटानी शरणार्थीको पहिलो लट गुपचुप अमेरिका लगिएकोमा भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले सोमबार झापाबाट कुरा गर्दै भन्नुभयो-साथीभाइसँग बिदावारी भएर जाने वातावरण पनि नदिइएकोमा दुःख लागेको छ । चोरेर लगेजस्तो किन गर्नु परेको बुझन सकिएको छैन । अमेरिका जाने शरणार्थीलाई नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको ट्राभल डकुमेन्ट’ पनि विमानस्थलमै छोडेर जानुपर्ने व्यवस्था गरिएको सुन्नमा आएको बताउँदै पौडेलले भन्नुभयो- १७ वर्ष नेपालमा बसेको चिनो एकातर्फ छोड्नुपर्ने अवस्था भएको छ भने अर्कातर्फ उक्त पर्मिट’ दुरुपयोग हुन सक्ने अवस्थाले पनि हामी चिन्तित भएका छौं।’

शरणार्थीको नेतृत्व पंक्तिले तेस्रो देशमा लाने कुराको यसअघिदेखि नै विरोध गर्दै आएको छ ।

No comments: