Tuesday, March 11, 2008

तराई-मधेस आन्दोलनका शहीद तय

काठमाडौं - सरकारले तराई-मधेस आन्दोलनमा मृत्यु भएका ३०, नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका एकसमेत कुल ३२ जनालाई एकमुष्ट रूपमा शहीद घोषणा गरेको छ । गृह मन्त्रालयद्वारा सोमबार जारी गरिएको वक्तव्यमा २०६३ माघ महिनामा भएको तराई-मधेस आन्दोलनमा २४ र २०६४ फागुनमा ६ जनासमेत ३० जनाको मृत्यु भएको जनाइएको छ ।

यस्तै २०६३ माघको आन्दोलनमा मृत्यु भएका नेपाल प्रहरीका एक जनालाई नेपाल प्रहरी शहीद र २०६४ फागुनको तराई आन्दोलनमा मृत्यु भएका सशस्त्र प्रहरीका एक जनालाई सशस्त्र प्रहरी शहीद घोषणा गरिएको वक्तव्यमा उल्लेख छ । यसरी २०६३ माघको तराई-मधेस आन्दोलनमा शहीद हुनेमा मोरङका राजकुमार कामत, तलुहस्दा भन्ने तलु हेमरम, निर्मल राजवंशी, सदानन्द यादव र दीनदयाल मण्डल, सुनसरीका हरि मेहता र श्यामसुन्दर मेहता, सर्लाहीका रामएकवाल राय, आशिष अली मिकरानी, रामनारायण साह, सञ्जयकुमारराय यादव र दिनेशराय यादव रहनुभएको छ ।

त्यसै गरी पर्साबाट महावीर साह, दीपेन्द्र साह र वीरबल मुखिया, सिरहाबाट रमेशकुमार महतो, बेचन यादव, मोहम्मद अनिस, प्रमोद सदाय र विजयकुमार सहनी, बाराबाट असरफ भन्ने शेख अब्दुल अनसनी र मजिर मिया भन्ने मजिद महम्मद, महोत्तरीबाट राजेशकुमार ठाकुर र धनुषाबाट शिवशंकर यादव रहनुभएको छ । त्यसै गरी यही फागुनको तराई-मधेस आन्दोलनमा शहीद हुनेमा सुनसरीका बिस्कुट मिया, सिरहाका सम्झना राई र राजेश ठाकुर, नवलपरासीका जगदीश पासवान (कतवारु), सप्तरीका गुल्टेन दास र बाँकेका गुल्जार खाँ रहनुभएको छ ।

२०६३ माघ महिनाको तराई-मधेस आन्दोलनमा नेपाल प्रहरी तर्फबाट मोरङका प्रनानि नरेशजंग कार्की र यही फागुनको तराई-मधेस आन्दोलनमा सशस्त्र प्रहरीका तर्फबाट सप्रब हबलदार शुक्रलाल माझीको मृत्यु भएकोमा उहाँहरूलाई पनि शहीद घोषणा गरिएको छ।

No comments: