Thursday, January 24, 2008

प्रधानमन्त्री कोइराला स्वस्थ

काठमाडौं, (रासस)प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी लिन बुधबार बिहान बालुवाटार पुगेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री स्वयम्ले आफनो स्वास्थ्यस्थिति क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ।सोही अवसरमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री कोइरालाको स्वास्थ्यबारे चलेको हल्ला भ्रामक भएको बताउँदै उहाँको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको जानकारी गराउनुभयो।प्रम कोइरालाको स्वास्थ्यस्थितिबारे मंगलबार दिनभर अनेक हल्ला फैलिनुका साथै उहाँको स्वास्थ्यका बारेमा चिन्ता र चासो बढ्न थालेपछि उपचारमा संलग्न चिकित्सकहरूद्वारा प्रमको स्वास्थ्यस्थितिबारे जानकारी गराउन बुधबार बिहान बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।प्रम कोइरालाको बुधबार पनि स्वास्थ्य परीक्षण गरिएको जानकारी दिँदै उपचारमा संलग्न चिकित्सकहरूका तर्फाट डा. अर्जुन कार्कीले प्रम कोइरालालाई मंगलबार राति राम्रो निन्द्रा परेको र खानामा रुचि बढेको जानकारी दिनुभयो।प्रम कोइरालाले आफूलाई हलुका महसुस भएको जानकारी दिनुभएको उल्लेख गर्दै डा. कार्कीले प्रम कोइरालालाई अरू केही दिन आराम गर्न सल्लाह दिइएको बताउनुभयो।प्रम कोइरालाको श्वास-प्रश्वाससम्बन्धी समस्यामा सुधार हुँदै गएकोले उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा घटाउँदै लगिएको डा. कार्कीले बताउनुभयो।

No comments: