Monday, January 28, 2008

अदालतमा हुलदंगा गर्नेलाई सजाय

काठमांडू - चमती जग्गा आयोजनाविरुद्ध दायर रिटनिवेदनमाथि सुनुवाइ भइरहँदा हुलदंगा गर्नेहरूले अदालतको अपहेलना गरेको ठहर गरी सर्वोच्च अदालतले उनीहरूलाई तीन महिना कैद गरी जनही १ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ ।
न्यायाधीशहरू बलराम केसी र तपबहादुर मगरको संयुक्त इजलासले काठमांडूस्थित चमती बस्ने १७ जनाविरुद्ध कैद र जरिवाना हुने फैसला गरेको हो । चमती बस्ने रामकृष्ण डंगोल, देवरत्न डंगोल, श्रीभद्र शर्मा, पूर्ण नारायण महर्जन, अशोकराज कोइराला, दिनेश महर्जन, नीलकण्ठ माली र रवि महर्जनले अदालतको अपहेलना गरेको ठहर गरिएको छ । यसै गरी ज्ञानेन्द्र महर्जन, तुयुभाइ महर्जन, रत्नकाजी महर्जन, मचाराजा महर्जन, मुकुन्द रिजाल, महेन्द्र थापा, मचाकाजी महर्जन, विष्णु श्रेष्ठ र पूर्णलाल श्रेष्ठले पनि अदालतको अपहेलना गरेको ठहर गरी तीन महिना कैदको फैसला गरिएको छ ।
तीन महिना कैदको फैसला गरिएको भए पनि अघिल्लो १५ दिन र पछिल्लो १५ दिन मात्र कैदमा बस्नुपर्ने गरी अदालतले दुइ महिनाको छुट दिएको छ।बाँकी दुइ महिना मुल्तबीमा राखिएको र सोबमोजिम उनीहरू घरमा नै बस्न पाउनेछन् । तीन महिना पुग्ने १५ दिनअगाडि कैद पाएका व्यक्तिहरू सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिइएको छ । यदि सो आदेशको अटेर गरेमा बाँकी दुइ महिना पनि कैदमा बस्नुपर्ने आदेश सर्वोच्च अदालतले गरेको छ । अदालतको अपहेलना गरेको आरोपमा यति लामो अवधिको कैद र १ हजार रुपियाँसम्म जरिवाना गरेको यो पहिलो पटक भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले बताउनुभयो ।

No comments: