Sunday, January 13, 2008

निर्वाचन आचारसंहिता बुधबारदेखि

काठमाडौं- निर्वाचन आयोगले संविधानसभा निर्वाचन प्रयोजनका लागि आउँदो बुधबार अर्थात् माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगले नेपाल सरकार, सरकारी तथा अर्धसरकारी संस्था र स्थानीय निकायका हकमा माघ २ गतेदेखि लागू हुने गरी संविधानसभा सदस्य निर्वाचन आचारसंहिता कार्यान्वयन हुने निर्णय गरिएको शनिबार जनाएको छ ।
त्यस्तै राजनीतिक दलका हकमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गरेको मितिदेखि आचारसंहिता लागू हुनेछ भने उम्मेदवारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मितिदेखि र निजी सञ्चारमाध्यमका हकमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको मितिदेखि आचारसंहिता लाग्ने आयोगले जनाएको छ । आयोगले संविधानसभा सदस्य निर्वाचन नियमावली २०६४ को नियम ३ को उपनियम (१) बमोजिम संविधानसभा सदस्यको निर्वाचनका लागि २०६४ साल चैत २८ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत तोकेको छ । जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्नका लागि सहमति प्राप्त गर्न प्रधानन्यायाधीशसँग र नेपाल न्याय सेवाका कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्नका लागि न्याय सेवा आयोगको सहमति प्राप्त गर्न र मुख्य निर्वाचन अधिकृत एवम् निर्वाचन अधिकृतको रूपमा खटिने पदाधिकारीहरूको नामावलीसमेत पठाइदिनका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा अनुरोध गर्ने आयोगले जनाएको छ।निर्वाचनमा खटिने सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूको निर्वाचन अवधिभर हुने दुर्घटनाका लागि सबैलाई १० लाख रुपियाँका दरले व्यक्तिगत दुर्घटना बिमा गर्नेसमेत निर्णय गरिएको आयोगले जनाएको छ।आयोगले तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

No comments: