Wednesday, January 23, 2008

पत्रकारमाथि हातपात गरिएकोमा महासङ्घको चिन्ता

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा भएको भनिएको आजको उपत्यका बन्दमा पत्रकारमाथि हातपात र उनीहरूका सवारी साधनमाथि हमला केन्द्रित भएकोमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले एक विज्ञप्ति प्रकाशित गरी रन्तपार्कमा पत्रकार श्रीविक्रम भण्डारीको मोटरसाइकल तोडफोड गरी उहाँमाथि हातपात गरिएको, कालिमाटीमा समय साप्ताहिकको गाडी तोडफोड गरी गम्भीर क्षति पुर्‍याइएको, बानेश्वरमा कान्तिपुर सम्वाददाता मैना धितालको मोटरसाइकल तोडफोड गरी उहाँमाथि हातपात र अभद्र व्यवहार गर्ने काम भएको जनाएको छ । यसैगरी बानेश्वर र कोटेश्वरमा द हिमालयन टाइम्स सम्बद्ध पत्रकारद्वय देवान र्राई र अनन्तराज लुइँटेलमाथि हातपात गरिएको, इन्डिपेन्डेन्ट विजनेस न्यूजका रिपोर्टर लोमश जोशीलाई कालोपुलमा अभद्र व्यवहार गरिएको र हातेमालो मिडिया सर्भिसेजका अध्यक्ष माधव निर्दोषलाई बानेश्वरमा हातपात गरी मोटरसाइकल तोडफोड गरिएको विज्ञप्तिमा जनाइएको छ ।
जनतालाई सुसूचित गर्ने आफ्नो व्यावसायिक कर्तव्य पूरा गर्न खटिएका सञ्चारकर्मीमाथि अराजक भीडले यो हदसम्म ज्यादती गर्दा पनि सरकारी निकाय बेखबर देखिएकोमा महासङ्घले गम्भीर चिन्ता प्रकट गरेको छ ।
पत्रकारलाई निर्वाध समाचार सङ्कलन गर्न पाउने वातावरण निर्माण गर्न माग गर्दै महासङ्घले सवारी साधन तोडफोड भएका पत्रकारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभासद् एवं दवाव साप्ताहिकका प्रकाशक अमर भुजुलाई पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका हुलले हातपात तथा मोटरसाइकल तोडफोड गरेको घटनाप्रति महासङ्घ भक्तपुरले खेद प्रकट गरेको छ । पत्रिका प्रकाशनका लागि आज बिहान भक्तपुरको आफ्नै निवासबाट काठमाडौँतिर जांदै गरेको अवस्थामा अरनिको राजमार्गको जडिबुटी क्षेत्रमा पत्रकार भुजुको बा.२५.प.९०९८ नम्बरको मोटरसाइकल तोडफोड गरिनुका साथै उहांमाथि कुटपिट गरिएको थियो । पत्रकार भुजुलाई प्रेस पास देखाउंदा देखाउंदै त्यसरी आक्रमण गरिएको थियो । पत्रकार र प्रेस माथि आक्रमण र हस्तक्षेप नगर्न सबै प्रदर्शनकारीमा महासङ्घ भक्तपुरले आग्रह गरेको छ ।

स्रोत : रासस

No comments: