Friday, January 25, 2008

स्ववियु निर्वाचन फागुन १६ गते

काठमाडौं-त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही फागुन १६ गते गर्ने निर्णयागरेको छ । त्रिवि कार्यकारी परिषद्को अस्ति बुधबार बसेको बैठकले सो निर्णयागरेको हो । चुनावको मिति निश्चित गरे तापनि अनेरास्ववियु (क्रान्तिकारी) ले स्ववियुसम्बन्धी नियमावली परिवर्तन नगरेसम्म चुनाव गर्न नहुने जनाएको छ । शाहीकालकै नियमावलीअनुसार चुनाव गराइए सहभागी हुनेछैनौं’, क्रान्तिकारीका महासचिव हिमाल शर्माले भन्नुभयो- नियमावली परिवर्तन गर्नुपर्छ, त्यसपछि मात्र चुनावमा सहभागी हुन्छौं ।’
यता नेविसंघका महामन्त्री मनोजमणि आचार्यले स्ववियुको चुनाव नभए संविधानसभाको चुनाव पनि हुन नसक्ने बताउँदै सबै विद्यार्थी संगठन एकजुट भएर चुनावमा लाग्नुपर्ने बताउनुभयो । यसै गरी अनेरास्ववियुका कोषाध्यक्ष उपेन्द्र पौडेलले पहिलेकै नियमावलीअनुसार चुनाव गर्दा केही फरक नपर्ने दाबी गर्दै चुनाव फागुन १६ मै हुनुपर्ने बताउनुभयो । सबै संगठनबीच फागुन १६ गते नै चुनाव गर्ने सहमति भइसकेको जानकारी दिँदै उहाँले चुनावमा कुनै पनि बखेडा निकाल्न नहुने बताउनुभयो । त्रिविका उपकुलपति प्रा.डा. माधव शर्माले भने विद्यार्थी संगठनबीच विवाद बढे तापनि समयमै चुनाव गर्ने दृढता व्यक्त गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो- नियमअनुसार त्रिवि कार्यकारी परिषद्ले मिति तय गरेको छ, त्यसैले चुनाव निर्बाध सम्पन्न गर्न सबै विद्यार्थी संगठनले सहयोग गर्नुपर्छ ।’ त्रिविसभा बस्न नसकेकाले स्ववियु निर्वाचनसम्बन्धी नियमावली हाल परिवर्तन गर्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । यसअघि २०६२ सालमा स्ववियु निर्वाचन भएको थियो ।

No comments: