Saturday, January 12, 2008

चुनाव चैत २८ मा

काठमाडौं - सरकारले संविधानसभाको निर्वाचन एकै चरणमा आगामी चैत २८ गते बिहीबार गराउने घोषणा गरेको छ । सात राजनीतिक दलको निर्णय अनुसार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चुनावको तिथि घोषणा गरेको हो । गत जेठ, असार र मंसिरका लागि तीनपटक निर्धारित तिथिमा संविधानसभा चुनाव हुन नसकेपछि सरकारले चौथोपटक तिथि तय गरेको हो ।
बैठकपछि मन्त्रीहरूले निर्वाचनसम्बन्धी सम्पूर्ण कानुन बनिसकेको र सात दलबीच पूर्ण सहमति भएकाले यसपटक चुनाव सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । 'यसअघि सात दलकै आन्तरिक कारणले चुनाव हुन नसकेको हो । यसपटक सात दलले पूर्ण सहमतिका साथ अठोट गरिसकेकाले चुनाव हुन्छ,' नवनियुक्त मन्त्री फर्मुल्लाह मन्सुरले भने । शान्तिसुरक्षाका दृष्टिले संवेदनशील मानिएका तर्राईमा निर्वाचनका बेला राम्रो सुरक्षा व्यवस्था मिलाउन सरकारले त्यहाका अधिकांश जिल्लामा रिक्त प्रमुख जिल्ला अधिकारी तत्काल पूर्ति गर्न तत्कालका लागि तीन विकल्प अपनाउने निर्णय गरेको छ ।
श्रम तथा यातायातमन्त्री रमेश लेखकका अनुसार सरकारले उपलब्ध भएसम्म मधेसी समुदायका सहसचिवलाई प्राथमिकता दिएर ती जिल्लामा सीडीओ बनाएर पठाउने भएको छ । त्यसैगरी प्राविधिक सहसचिवलाई समेत सीडीओ बनाउन सक्ने या कामु या निमित्त सीडीओलाई नै कन्र्फम सीडीओ सरहको अधिकार दिने विकल्प अपनाउने भएको छ । तर्राईका अधिकांश जिल्लामा निमित्त या कामु सीडीओ छन् । द्वितीय श्रेणीको कर्मचारी छ महिनाभन्दा बढी कामु सीडीओ हुन नपाउने कानुनी व्यवस्था छ ।
स्रोत : कान्तिपुर

No comments: