Thursday, January 17, 2008

आज दिउसो ललितपुरमा भूकम्प

काठमाडौं- राजधानीमा आज दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प जाँदैछ । त्यसको असर भने ललितपुरमा बढी पर्नेछ र अव्यवस्थित रूपमा बनाइएका घर ढल्नेछन् । यो घटना यथार्थ नभए पनि दसौँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज जनचेतना जगाउन नक्कली भूकम्प ल्याउन लागिएको हो।राजधानी काठमाडौं भूकम्पीय दृष्टिले खतराको सूचिमा पर्ने सहर हो । प्रत्येक ७५ वर्षको अन्तरालमा काठमाडौंमा महाभूकम्प गएको इतिहास छ । सन् १९९० को माघ २ गते गएको महाभूकम्पले हजारौँको ज्यान गएको थियो । अहिले सो भूकम्प गएको ७५ वर्षपुगेको छ ।
यदि त्यस्ता भूकम्प गइहालेमा त्यसबाट कसरी बँच्न सकिन्छ भन्ने उपायको खोजीका लागि आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ।ललितपुर उपमहानगरपालिका परिसर पुल्चोकमा दिउँसो हुने प्रदर्शनमा नक्कली भूकम्प सिर्जना गरी नमुना घर भत्काइँदैछ। भूकम्पले कस्ता घर बढी क्षतिग्रस्त तुल्याउँछ, त्यसबाट कसरी बँच्ने भन्नेबारे त्यहाँ जानकारी दिइनेछ। प्रदर्शनमा १९९० र २०४५ सालमा भूकम्पबाट भएको क्षतिका बारे चित्रकला प्रदर्शनी गरिनेभएको छ।भूकम्प दिवसका अवसरमा आज दिउँसो खुलामञ्चबाट पुल्चोकसम्म र्याली आयोजना गरिँदैछ। र्यालीपछि गरिने प्रदर्शनीको उद्घाटन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गर्नुहुने भएको छ। सो कार्यक्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुने बताइए पनि उहाँ स्वास्थ्यका कारण जान नसक्ने बुझिएको छ।

No comments: