Sunday, January 13, 2008

बेलबारी हत्याकाण्डमा सेना संलग्न

काठमाडौं- लोकतन्त्र बहालीको भोलिपल्ट अर्थात् २०६३ वैशाख १२ र १३ गते मोरङको बेलबारीमा नेपाली सेनाले सुनियोजित रूपमा हत्याकाण्ड मच्चाएको ठहर संसद्ले गरेको समाचार नेपाल समाचारपत्र ले प्रकाशित गरेको छ ।
समाचारमा भानिएको छ - झन्डै दुई वर्षअगाडि वैशाख १२ गते स्थानीय महिला सपना गुरुङलाई सेनाले घरबाटै अपहरण गरी सामूहिक बलात्कार गरेको र त्यसपछि गोली हानी निर्ममतापूर्वक हत्या गरेको अध्ययनबाट पुष्टि भएको छ । महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको विरोधमा त्यसको भोलिपल्ट प्रदर्शनमा उत्रिएका जनतामाथि सेनाले अन्धाधुन्ध गोली हानी ६ जनाको हत्या गरेको, १० जना अशक्त घाइते भई अपांग भएको र ३८ जना घाइते भएकोबारेमा अनुसन्धान गर्न संसद्ले २०६३ वैशाख २७ गते छानबिन समिति गठन गरेको थियो।सांसद परि थापा, कमला पन्त, विजय सुब्बा, नारायणप्रकाश साउद र रामनाथ अधिकारी रहनुभएको छानबिन समितिले अध्ययन गरिरहेको तर काम नसकिएकाले व्यवस्थापिका-संसद्ले पुनः २०६३ फागुन २५ गते परि थापाकै संयोजकत्वमा कमला पन्त, गोकर्ण विष्ट, तीर्था गौतम, धर्मशिला चापागाईं, नारायणप्रकाश साउद, रामनाथ अधिकारी, विजय सुब्बा र शिवकुमार मण्डल रहेको समिति बनाएको थियो। सो समितिले भारतमा डीएनए परीक्षणसमेत गर्न पठाई गम्भीर अध्ययन गरी निष्कर्ष प्रतिवेदन शनिबार व्यवस्थापिका-संसद्मा प्रस्तुत गरेको छ।झन्डै दुई वर्ष लामो अध्ययन-अनुसन्धानपछि संसदीय समितिले २८ जना अधिकारी, सेना र प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ। सिफारिस गरिएका सम्बद्ध व्यक्तिलाई कारबाही गरी संसद्लाई जानकारी गराउनसमेत समितिले रक्षा र गृह मन्त्रालयलाई निर्देश गरेको छ।संसद्ले समेत अनुमोदन गरेको सो निष्कर्षे नेपाली सेनाका लालबहादुर कुँवर, लोकेन्द्रराज थापा, महेश पन्त, दीपक श्रेष्ठ, नन्दराज राई, खगेन्द्र ऐर, प्रदीपराज बानियाँ, दीपेश रेग्मी, निर्मलकुमार पन्त, वीरबहादुर महरा, कृष्णसिं कुँवर, खेमबहादुर जिसी, देवसिं धामी, निर्मल रतौकी, प्रेमसिं भण्डारी, पदम आडे एव् प्रहरी अधिकारीमा ज्ञानेन्द्र बस्नेत, नीरकुमार राई, विकेन्द्र कार्की, नारायण कोइराला, लालबहादुर खड्का, मुनिलाल यादवललगायतलाई कारबाही गर्न सिफारिस गरेको छ।त्यसै गरी बेलबारीका प्रमुख सहसेनानी प्रह्लाद थापामगर, विष्णुदल गणका गणपति सानु तामाङ, प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल, इटहरीका पृतनापति ओमबहादुर पुन, बाहिनीपति पवनबहादुर पाण्डे, प्रहरी उपरीक्षक जगतबहादुर विष्टलाई ऐनकानुनबमोजिम कार्य नगरेको भनी कडा कारबाही गर्न संसद्ले निर्देश गरेको छ।बेलबारीका प्रमुख सहसेनानी प्रह्लाद थापामगरको नेतृत्वमा ११ जनाको सैनिक टोलीले २०६३ वैशाख १२ गते साँझ ९ बजेको समयमा आफ्नै डेरामा रहेकी सपना गुरुङलाई अपहरण गरी निर्जन र एकान्त स्थानमा लगी सामूहिक बलात्कार गरेको टोलीको अध्ययनले देखाएको छ।सपनाको हत्यापछि वैशाख १३ गते विरोधमा उत्रिएका जनतालाई उल्टै अन्धाधुन्ध गोली हानिएको र त्यसबाट थप ६ जनाको मृत्यु भएको भन्दै संसदीय समितिले सैनिक बर्दीमा रहेका केही आपराधिक मानसिकता भएका व्यक्तिहरूको क्रियाकलापले सिंगो सैनिक संगठनलाई नै शंकाको घेरामा ल्याएको जनँएको छ।

No comments: