Sunday, January 13, 2008

माओवादीको सम्पूर्ण शक्ति चुनावमा

काठमाडौं- काभ्रेदेखि सोह्रखुट्टेसम्म जारी माओवादी केन्द्रीय कमिटीको बैठक चुनावी अभियान तय गरी आज सम्पन्न हुँदैछ । सोह्रखुट्टे नयाँबजारस्थित गार्डेन होटेलमा दिउँसो ३ बजेदेखि सुरु हुने माओवादी बैठक आज छोटो समय बसेर सम्पन्न हुने स्रोतले बताएको छ ।
बैठकले तीन महिने चुनावी अभियान तय गरेको छ। जसअनुसार माघ महिनाभर प्रशिक्षण तथा प्रचारप्रसार, फागुनमा जनसभा र चैतमा अन्तिम चरणका चुनावी कार्यक्रम सञ्चालन गरिनेछ। निर्वाचनमा देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिबीच बृहत् एकता कायम गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले राष्ट्रियता र गणतन्त्रका लागि संविधानसभा निर्वाचन?को नारा तय गरेको छ। त्यस्तै, पूर्व, मध्य र पश्चिम गरी तीनवटा केन्द्रीय समन्वय समिति बनाएको माओवादीले पूर्वको जिम्मा रामबहादुर थापा -बादल), मध्यको डा। बाबुराम भट्टराई र पश्चिमको पोस्टबहादुर बोगटी -दिवाकर)लाई संयोजक तोकेको छ ।
त्यस्तै सात दलको संयुक्त सभाका लागि पार्टीका तर्फबाट वक्ता तोकिएको छ। जसअनुसार काठमाडौंको आमसभामा अध्यक्ष प्रचण्ड, विराटनगरमा डा। भट्टराई, धनगढीमा बादल, भैरहवामा टोपबहादुर रायमाझी, जनकपुरमा सीपी गजुरेल, नेपालगन्जमा कृष्णबहादुर महरा, वीरगन्जमा मातृका यादवले सम्बोधन गर्नेछन्। माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा एक सय एक सदस्यीय संविधानसभा निर्वाचन परिचालन मूल तयारी समिति गठन गरिएको सो पार्टीले जनाएको छ।मङ्सिर ६ को निर्वाचन माओवादीका कारण भाँडिएको आरोप लागेपछि यसपटक भने माओवादी केन्द्रीय समितिकै पूर्णबैठकले निर्णय गरेर सम्पूर्ण शक्तिसहित निर्वाचनमा होमिन लागेको स्रोतले बताएको छ।

No comments: