Sunday, January 13, 2008

वीरगन्जमा पत्रकारको हत्या

काठमाडौं - सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गरेलगत्तै तराईमा हत्या, हिंसाका घटना बढ्न थालेका छन् । वीरगन्जमा गएराति अज्ञात समूहले पत्रकारको गोली हानी हत्या गरेको छ ।
वीरगन्जबाट प्रकाशित हाइवे साप्ताहिकका प्रकाशक सम्पादक पुष्कर श्रेष्ठलाई गएराति अज्ञात समूहले घरनजिकै गोली हानी हत्या गरेको छ । वीरगन्ज नपा-१३ आदर्शनगर निवासी श्रेष्ठ गएराति आफ्नो पसलबाट घर जाँदैगरेको बेला उनीमाथि गोली प्रहार गरिएको थियो । गोली लागी घाइते भएका पत्रकार श्रेष्ठको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुँदाहुँदै राति मृत्यु भयो । हाइवे पत्रिकाका सम्पादक रहेका श्रेष्ठको पत्रिका उनका ज्वाइँ शशी श्रेष्ठले प्रकाशित गर्दै आएका छन् । पत्रकार श्रेष्ठको हत्या ज्वालासिंह समूहले गरेको आशङ्का प्रहरीले गरेको छ । त्यस्तै गएराति वीरगन्जका दुई ठाउँमा गरिएको बम विस्फोटमा परी चार सर्वसाधारण घाइते भएका छन् । गएराति अज्ञात समूहले वीरगन्जको बिर्ताचोकमा गराएको विस्फोटमा एक र विन्ध्यवासिनीमा गराएको विस्फोटमा तीन सर्वसाधारण घाइते भएको वीरगन्जबाट महानगर संवाददाताले जनाएका छन् ।
चुनावको मिति घोषणा भएलगत्तै वीरगन्जमा हिंसारत समूह सक्रिय हुन थालेका छन्।

No comments: