Monday, January 28, 2008

यसरी लुटिन्छन् नेपालीहरु

रासस- भारतको नयाँदिल्लीमा काम गरेर जम्मा गरेको पैसा लिएर हिँडेका दुइ बाबुछोरासहित तीन जना नेपाली दिल्ली-सुनौली बस यात्राका क्रममा लुटिएका छन् । नयाँदिल्लीस्थित एक होटलमा काम गरी ललितपुर बुङ्मती-१ स्थित आफ्नो घर फर्कन दिल्लीबाट बस चढेर हिँडेका ३६ वर्षीय गोपालबहादुर थापा र निजका छोरा १६ वर्षीय विष्णुलाई रक्सीमा नसालु पदार्थ मिसाएर ख्वाई साथमा रहेको भारतीय रुपैयाँ २० हजारसमेत लुटेराले लगेको थियो ।
बेहोस अवस्थामा भारतको सुनौलीस्थित बसपार्कमा भेटिएका ती बाबुछोरालाई भारतीय सुरक्षाकर्मीले रिक्सामा चढाएर नेपाल पठाएको बुझिएको छ । उनीहरुलाई यात्राको क्रममा नेपाली मूलको पहाडिया अनुहार भएको व्यक्तिले साथी बनाई नसालु पदार्थ ख्वाएको प्रहरीको भनाइ छ । बाबुछोरासँगै यात्रामा रहेका धादिङ फूलबारी-५ का ६० वर्षीय जङ्गबहादुर भुजेलको पनि भारतीय रुपैयाँ १६ हजार लुटिएको छ । ती तीनैजना बेलहियास्थित प्रहरीचौकीमा बेहोस अवस्थामा रहेका छन् । विगत चार महिनायता भारतबाट कमाई गरी नेपाल फर्कने क्रममा २२ जना नेपाली नसालु पदार्थ सेवन गरेपछि लुटिएको प्रहरीले जनाएको छ ।

No comments: