Thursday, January 17, 2008

प्रचण्ड पुत्रको बिहे, बाउ-छोराको ससुराली एकै ठाउँ

काठमाडौँ- माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको आज पोखरास्थित पृथ्वीचोकनजिकै वाईसीएलको क्याम्पभित्र कडा सुरक्षाबीच दोस्रो विवाह हुँदैछ । पोखराबाट महानगर संवाददाताले जनाएअनुसार २७ वषीय प्रकाशको कास्की हेम्जा गाविस-८ की २२ वषीया सिर्जना त्रिपाठीसँग आज जनवादी विवाह हुँदैछ । सिर्जना पृथ्वीनारायण क्याम्पसमा नेपाली विषय लिएर बीएड दोस्रो वर्षा अध्ययनरत छिन् । सामान्य कृषक परिवारकी सिर्जनाको विवाह प्रकाशसँग हुनुमा प्रचण्डका साला लमी भएका कारण जुरेको स्रोतले बताएको छ । संयोग यस्तो परेको छ कि बाबु प्रचण्ड र छोरा प्रकाशको ससुराली एउटै गाउँमा परेको छ ।
गुपचुपसँग हुन लागेको प्रकाशको बिहेमा प्रचण्ड, उनका बाबुआमा पनि नातिलाई आशीवाद दिन विवाहस्थलमा पुगेका छन् । वाईसीएलको कडा सुरक्षाबीच भइरहेको विवाह समारोहमा माओवादीका केही निश्चित केन्द्रीय नेता मात्रै सहभागी छन् । प्रकाशको यसअघि माओवादी केन्द्रीय नेता पोष्टबहादुर बोगटी -दिवाकर)की छोरी प्रभा बोगटीसँग पहिलो विवाह भएको थियो । प्रभासँग माओवादी जनअदालतमा पारपाचुके भइसकेको बताइन्छ । प्रभा भने अहिले माओवादी जनमुक्ति सेनाभित्र प्लाटुन कमान्डर छिन् ।

No comments: